काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ६ जनाले सभापतिमा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमध्ये प्रधानमन्त्री शेरबहादुर देउवा सबैभन्दा पाका नेता हुन्। ७५ वर्षीय देउवाले पाँचौं पटक प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गरिरहेका छन्।
कुनै समय नेपाली कांग्रेसको विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका देउवा १२ औं महाधिवेशनमा सुशील कोइरालासँग सभापतिमा पराजित भएका थिए। उनी १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा विजयी भए। देउवा कांग्रेसको संसदीय दलका नेतासमेत हुन्।
उनी गत निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य विजयी भएका थिए। आफू सभापतिमा दोहोरिन पाए कांग्रेसलाई स्थानीय तहदेखि केन्द्रसम्म पहिलो विजयी गराउने घोषणा उनले गरेका छन्।
शेखर कोइराला, प्रकाशनमान सिंह र विमलेन्द्र निधि दोस्रो पुस्ताका नेता मानिन्छन्।
विमलेन्द्र निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका छोरा हुन्। उनी १३ औं महाधिवेशनबाट निर्वाचित उपसभापति हुन्। निधिले पटक-पटक मन्त्री तथा उपप्रधानमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा धनुषा-३ बाट तत्कालीन जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोसँग पराजित भएका थिए।
केशवप्रसाद कोइरालाका छोरा शेखर कोइराला बीपी र गिरिजाप्रसादका भतिजा हुन्। कोइराला परिवारको विरासतको बिडो थाम्नसक्ने सम्भावना देखेरै गिरिजाप्रसाद कोइरालाले उनलाई सक्रिय राजनीतिमा ल्याएका थिए।
उनी राजनीतिमा आउनुभन्दा पहिले चिकित्सकका रुपमा सक्रिय थिए। उनले त्यसक्रममा वीर अस्पताल, कोशी अञ्चल अस्पताललगायतमा सेवा दिए। उनलाई अहिले शंशाक कोइराला र रामचन्द्र पौडेलको समर्थन छ।
गत प्रतिनिधिसभा निर्वाचनमा उनी मोरङ-६ बाट नेकपा एमालेका लालबाबु पण्डितसँग पराजित भएका थिए। सक्रिय राजनीतिमा आएयता उनी सरकारी लाभको कुनै पदमा छैनन्।
प्रकाशनमान सिंह कांग्रेस संस्थापक नेता गणेशनमानका पुत्र हुन्। उनी पार्टीका पूर्वमहामन्त्रीसमेत हुन्।
संसदीय दलको नेताका लागि भएको निर्वाचनमा उनी देउवासँग पराजित भएका थिए। उनी अहिले काठमाडौं-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनले पटक-पटक मन्त्री र उपप्रधानमन्त्रीको भूमिका समेत निर्वाह गरिसकेका छन्।
कांग्रेस सभापतिमा उम्मेदवारी दिएका कल्याण गुरुङ ५२ वर्षका भए। उनी कांग्रेसका पुराना नेता वसन्त गुरुङका छोरा हुन्। सुशील कोइराला पार्टी सभापति छँदा उनी केन्द्रीय सदस्य थिए।
गोरखा आरुघाटका ४० वर्षीय युवराज न्यौपाने कांग्रेस सभापतिमा उम्मेदवारी दिनेमध्ये सबैभन्दा कान्छा हुन्। कांग्रेसको नेतृत्व युवाको काँधमा आउनुपर्ने तर्कसहित उनले सभापतिमा उम्मेदवारी दिएका हुन्।
उनी यसअघि कमैमात्र चर्चामा आउँथे। यसपटक उनी गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि चुनिएर आएका हुन्।
देउवा, शेखर, प्रकाशमान र विमलेन्द्रको समर्थक र प्रस्तावकमा को-को ?
सभापति पदमा उम्मेदवारी दिएका देउवाको प्रस्तावकमा कृष्णप्रसाद सिटौला, बालकृष्ण खाण, मीन विश्वकर्मा, अजय चौरसिया, बहादुर सिंह, भीमसेन दास प्रधान र चित्रलेखा यादव छन् । यस्तै, समर्थकमा गोपालमान श्रेष्ठ, रमेश रिजाल, जीवनबहादुर शाही, गोविन्द परियार, अम्बिका बस्नेत, जगतबहादुर तामाङ र मुख्तार अहमद छन् ।
यसैगरी सभापति पदका लागि शेखर कोइरालाले दर्ता गराएको मनोनयन पत्रमा समर्थकका रुपमा अमरसिंह पुन, गुरुराज घिमिरे, विनोद बान्तावा, अर्जुन कुमार पोखरेल, केदार भण्डारी, रामकृष्ण यादव र चतुरबहादुर चन्द छन् । समर्थकमा भने डिगबहादुर, अर्जुनबहादुर तुम्बाहाम्फे, शुक्रराज शर्मा, सुरेशराज आचार्य, रत्ना शेरचन, अब्दुल कलाम र भुपेन्द्रजङ्ग शाही छन् ।
यस्तै, प्रकाशमान सिंहको उम्मेदवारीमा समर्थकहरु कृष्ण बानियाँ, दिव्यमणि राजभण्डारी, प्रभातकुमार दाहाल, छिरिङदोर्जे लामा, कञ्चनचन्द्र, दीर्घबहादुर केसी र दिपेन्द्रकुमार श्रेष्ठ छन् । समर्थकमा जितेन्द्रकुमार श्रेष्ठ, हरिप्रभा खड्गी, राजेन्द्रकुमार केसी, मिथिलेशकुमार मिश्र, गीता सत्याल, चेतबहादुर मगर र नवीन राई छन् ।
सैगरी विमलेन्द्र निधिको उम्मेदवारीको प्रस्तावकमा रामसरोज यादव, खिलानाथ, पोषनाथ शर्मा, भगिरथ पोद्दार, मिनाक्षी झा, मोहम्मद शोएब, कृष्णकुमारी शाही छन् भने समर्थकमा महेशशंकर गिरी, राजनकाजी खाती, कपिलदेव साह, देवकी नेपाली, सम्वर्धन तामाङ, सञ्जयकुमार गुप्ता र ध्रुवप्रसाद पौडेल छन् ।