महोत्तरी- चिकित्सा शिक्षा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुबाट मेडिकल कलेजहरुले लिएको शुल्क फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेको छ ।
चिकित्सा शिक्षा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुबाट मेडिकल कलेजहरुले आयोगले निर्धारण गरेको शुल्कको अतिरिक्त आयोगको निर्णयलाई समेत वेवास्ता गर्दै लूटवादी मानसिकता राखी गैरकानुनी रुपमा विभिन्न फर्जी शिर्षक, उप–शिर्षक खडा गरि अतिरिक्त शुल्क असुल्ने कार्यप्रति संयुक्त विद्यार्थी संगठनले घोर भत्सर्ना गरेको छ ।
विद्यार्थीहरुको लामो समयदेखि चिकित्सा शिक्षामा भइरहेको विकृति र विसंगति विरुद्ध एकजुट भइ गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरुको पक्षमा आवाज बुलन्द पार्दै आन्दोलनमा रहेको लोसपानिकट राष्ट्रिय विद्यार्थी संघका नेता रञ्जित निष्पक्षले जानकारी दिए ।
चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क असुल्ने मणिपाल मेडिकल कलेज, सीएमसी मेडिकल कलेज, किस्ट मेडिकल कलेज लगायत सम्पूर्ण मेडिकल कलेजहरुलाई कारबाहीको दायरामा ल्याइ असुलेको सम्पुर्ण शुल्क तत्काल फिर्ता गर्न माग गरिएको छ ।
यसैगरी संयुक्त विद्यार्थी संगठनले चिकित्सा शिक्षा अंतरगत प्रवेस परिक्षा फरम भर्दा लिने गरेको चर्को शुल्क तत्काल खारेज गरि गरिब तथा विपन्न विद्यार्थीहरुको पहुँचमा पुग्ने गरि वैज्ञानिक तबरबाट शुल्क निर्धारण गर्नुपर्ने माग गरेको छ ।
चिकित्सा शिक्षामा भैरहेको बेथिति, विसंगतिलाई अन्त्य गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने कार्यको अगुवाइका लागि रक्तीभर बिलम्ब नगर्न विद्यार्थी संगठनले माग गरेको छ ।