धनुषा- ‘मधेसमा शिक्षाका मुद्दाहरु र सञ्चार क्षेत्रका प्राथमिकता’ विषयमा आयोजित कार्यशालामा सञ्चार क्षेत्रले सार्वजनिक शिक्षाको रुपान्तरणका लागि अझै गहनरुपमा कलम चलाउन जोड दिइएको छ ।
शिक्षा पत्रकार समाजले शिक्षा नीति तथा अभ्यास केन्द्रको सहयोगमा आयोजित प्रदेश नं. २ स्तरीय दुई दिने कार्यशालाको समापनका अवसरमा वक्ताहरुले गुणस्तरीय सिकाइ वातावरण निर्माणका लागि शैक्षिक पूर्वाधारका साथै प्राज्ञिक वातावरणमा सुधार हुनुपर्ने र पत्रकारहरुले स्थलगतरुपमा नियमित रिपोर्टिङ गर्नुपर्ने औँल्याएका छन् ।
कार्यक्रममा प्रदेश नं. २ का सदस्य रामाशीशश यादवले मधेसमा शैक्षिक सुधारका लागि अभियान नै सञ्चालन गर्नुपर्ने र त्यसमा राजनीतिक पक्ष र पत्रकारिताका साझा प्रयास हुनुपर्ने बताउनुभयो ।
शिक्षा नीति तथा अभ्यास केन्द्रका सदस्यसचिव टीका भट्टराईले शिक्षामा संरचनात्मक, नीतिगत र व्यवहारिक मुद्दाहरुको पहिचान गरी पत्रकारहरुले स्थापित गर्नुपर्ने जनाउनुभयो ।
वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले शिक्षाको पूर्वीय दर्शन र मान्यतालाई आत्मसात् गर्दै भुईँ तहका मुद्दाहरुको समाचार सम्प्रेषण गर्न आग्रअह गर्नुभयो ।
शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता साह, पत्रकार हरि थापा, पत्रकार यशोदा अधिकारी, आसमान नेपालका लागि धनुषा स्थित कार्यक्रम संयोजक दिनेश यादव, समाजका प्रदेश नं. २ का संयोजक सुरेश यादवले शिक्षामा मधेसबाट लेखिएका र लखिनुपर्ने सवालमा प्रस्तुतिकरण गर्नुभएको थियो ।