
धनुषा- नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि आज भएको मतदान सम्पन्न भएको छ।
विहान ९ः४५ बजे देखि सुरु भएको मतदान साँझ ८ बजेसम्म चल्दा १ हजार ८ सय ८१ जना प्रतिनिधिहरुले मत खसाल्नु भएको छ।
कूल मतदाता १ हजार ९ सय ३८ मा रहेकोमा १ हजार ८ सय ८१ मत खसेको हो।
धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिले जनाएको छ।
बुधबार नै मतदानको कार्यतालिका रहे पनि दुई समूहबीच विवाद र मतपत्र छाप्न ढिला भएपछि मतदान प्रभावित भएको थियो। कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएकोमा ५ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान भएको हो।
निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले मतपत्र छपाउन ढिलाइ भएका कारणले बिहान दुई घण्टा ढिलो गरी मतदान शुरु भए पनि शान्तिपूणर् ढंगले मतदान सम्पन्न भएको बताउनुभयो ।
जनकपुरधामको गोपाल धर्मशालामा कडा सुरक्षाका साथ मतदान सम्पन्न भएको हो । मतदान स्थलमा प्रवेश गर्ने ठाउँमा थोरै संख्यामा मतदातालाई प्रवेश गर्न दिई व्यवस्थित रूपमा मतदान कार्यक्रम सम्पन्न भएको संयोजक गौतमले जनाउनुभयो।
मतदानका लागि दुई दुई जिल्ला गरेर ४ वटा बुथ स्थापना गरिइएको थियो । धनुषा-महोत्तरी, सिरहा-सप्तरी, सर्लाही-रौतहट र वारा-पर्साका गरेर ४ वटा बुथ तोकेर मतदाताले मतदान गरे । ६७ वटा पदमा चिन्ह लगाउनु पर्ने भएकाले मतदानमा गर्न ढिलो भएको हो ।
प्रदेश नंं २ को प्रदेश सभापतिमा संस्थापन पक्षबाट रौतहट जिल्लाका पार्टी सभापति कृष्ण यादव तथा संस्थापन ईतर पक्षबाट नेपाली काँग्रेसका संसदीय दलका नेता एवं प्रदेश नंं २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्यानलमा नै उम्मेदवारी दिएर प्रतिस्पर्धा गरिरहनु भएको छ ।
नेपाली काँग्रेसका प्रदेश नंं २ का केन्द्रीय पदाधिकारीहरू पनि मतदान क्षेत्रमा उपस्थित भएकाले जनकपुरधामको वातावरण पूर्ण रूपमा नै काँग्रेसमय बनेको छ ।
अब आज राती देखि नै मतगणना शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।