सर्लाही- गस्तीमा रहेको प्रहरी भ्यानले स्थानीय व्यापारीलाई ठक्कर दिएर मृत्यु भएपछि आक्रोशित स्थानीय र व्यापारीले प्रहरी भ्यान जलाइ दिएका छन्।
सर्लाहीको ईश्वरपुर नगरपालिकामा हिजो राति (आइतबार) ९ बजेतिर इलाका प्रहरी कार्यालयको गस्तीमा रहेको भ्यानले ठक्कर दिँदा स्थानीय फेन्सी पसल चलाउँदै आएका व्यापारी नगरपालिका-५ का ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो। केशरगञ्ज प्रहरीको ना१झ ८६९ नम्बरको पिकअप भ्यानले बयलवास बजारबाट मोहनपुरतर्फ गस्ती गर्दै जानेक्रममा ईश्वरपुर नगरपालिका–७, स्थित नगरपालिका कार्यालयदेखि केही दक्षिणतर्फ विपरीत दिशाबाट आउँदै गरेको ना४३प ५०१८ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राम कुमार महतोलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल ल्याइएको र यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ। राम कुमारको मृत्युपछि आफन्त र स्थानीयवासीले सोमबार बयलवास बजारस्थित इलाका प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्।
घटनाबारे मृतकको परिवारलाई ढिलो गरी जानकारी गराइएको र घटना शंकास्पद रहेको भन्दै स्थानीयहरुले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनको क्रममा इलाका प्रहरी कार्यालय हरिपुरको बा१झ ७४८२ को पिकअप भ्यानसमेत जलाइदिएका छन्। प्रहरीले भने मृतकको साथमा परिचयपत्र वा अन्य कागजात नभएको, मोबाइलसमेत स्क्रिन लक भएकाले नाम, थर वतन पत्ता लगाउन नसकिएको र आज बिहान मृतककी श्रीमतीको फोन आएपछि मात्र घटनाबारे जानकारी गराएको जनाएको छ।
इलाका प्रहरी कार्यालय केशरगञ्जमा मृतकका परिवार, स्थानीय अगुवा र प्रहरीबीच अहिले वार्ता चलिरहेको भए पनि मृतकका आफन्तले भने प्रदर्शन गरिरहेका छन्। मृतक राम कुमारले बयलवास बजारमा फेन्सी पलस सञ्चालन गर्दै आएका थिए। उनको मृत्युपछि व्यवसायीहरुले आज बयलवास बजार बन्द गराएका छन्।