जनकपुरधाम- रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा मंगलबार जन्ती चढेको भारतीय नम्बर प्लेटको स्करपियो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
मृत्यु हुनेमा गढीमाई ३ का १५ वर्षीय शेख अजिबुल्लाह रहेको ईलाका प्रहरी गरुडाका डीएसपी श्रीराम भण्डारीले बताए । उनका अनुसार सख्त घाइते शेखलाई थप उपचारका लागि विरगन्ज लैजाँदै गर्दा मृत्यु भएसँगै उक्त गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
यस अघि २२ वर्षीय शेख अरस, गढिमाइ नगरपालिका–३ का १६ वर्षीय शेख नैवसाद, २२ वर्षीय शेख सैनुल्हा, ५५ वर्षीय मोसाफिर अन्सारी र २५ वर्षी शेख छोटुको घटनास्थल मै मृत्यु भएको थियो ।
बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती गएको थियो । विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा मंगलबार दिउँसो सवा ४ बजे गाडी दुर्घटनामा परेको हो ।
गाडी तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर सडकबाट झण्डै २० फिट तल खसेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । गम्हरियाको मोहम्मद सलाउद्धिनको छोरा मोहम्मद ईमरानलाई दुलही लिन २५ वटाभन्दा बढी गाडीमा जन्ती गएका थिए ।
जन्ती बोकेको उक्त जिपमा नौ जना सवार रहेका थिए । दुर्घटनापछि घाइतेहरुको गरुडाको ग्रान्डी, हेल्थल्यान्ड र सुकदेव चोकको अस्पतालमा उपचार गरिएको थियो ।घाइते सबैलाई थप उपचारका लागि विरगन्ज लगिएको छ ।
दुर्घटनामा मृतक र घाइते सबै एउटै गाउँको परेको प्रदेश सांसद शेख फुलबाबुले बताए । फुलबाबु त्यही गाउँका हुन् । ‘सिंगो गाउँ शोकमा डुबेको छ । कल्पना नै गर्न नसकेको घटना भयो,’उनले भने,‘जन्ती फर्कंदै गर्दा दुर्घटना हुन पुग्यो । सबै आफन्तहरु नै परेका छन् । गाउँमा अहिले रुवाबासी चलेको छ ।’