सर्लाही- सर्लाहीको हरिवनमा बिहीबार पत्रकारहरुलाई उखुको लाक्रा दिँदै तरकारीको माला लगाइदिएर सम्मान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ प्रदेश २ समितिले हरिवनस्थित सगुन सहकारीको सभा हलमा आयोजना गरेको “नैतिक पत्रकारिता आजको आवश्यकता” विषयक अन्तक्र्रिया तथा प्रादेशिक समितिको पाँचौ बैठकमा उपस्थित प्रदेश समितिका सदस्य र अन्य जिल्लाहरुबाट सहभागी पत्रकारहरुलाई तरकारीको माला लगाइदिनुका साथै उखुको लाक्रा दिएर सम्मान गरिएको हो । उखु किसानले उखुको लाक्रा दिएर तथा देशमै प्रख्यात रहेको लालबन्दीस्थित तरकारी बजार समितिको तर्फबाट तरकारीको माला लगाइदिएर नौलो ढङ्गले पत्रकारहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।




नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले यस वर्ष अहिलेसम्म उखुको मूल्य कायम नभइरहेको अवस्थामा प्रदेश २ भरीका पत्रकारहरुलाई हरिवनमा भेला भएको अवसरमा उखुको लाक्रा दिएर उखु किसानको समस्या र पिर मर्कालाई उठानदिन आग्रह गरिएको बताए । सरकार र उद्योगीले आफूहरुको कुरै नसुन्ने गरेको भएपनि पत्रकारहरुले बर्सेनि आफूहरुको पिडालाई बाहिर ल्याएर ठूलो गुन लगाइरहेका मैनालीको भनाई छ ।
त्यसैगरी, लालबन्दी तरकारी बजार समितिको तर्फबाट कर्मचारी मिरा अधिकारीले गोलभेँडा, भान्टा, खुर्सानी, काक्रो, मुला लगायत तरकारीको माला लगाएर सम्मान गरिन् । यस्तै, कार्यक्रममा उपस्थित पत्रकारहरुलाई उद्योग वाणिज्य सङ्घ लालबन्दीको तर्फबाट अध्यक्ष कल्याण कुमार जोशी र महासचिव दीपेन्द्र बलम्पाकीले ढाका टोपी तथा चेम्बर अफ कमर्स सर्लाहीको तर्फबाट अध्यक्ष रामभक्त प्रधान र महासचिव सुशील चालिसेले खादा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

पत्रकार महासङ्घ प्रदेश २ समितिका अध्यक्ष राजेश कर्णको अध्यक्षतामा आयोजित प्रादेशिक समितिको बैठक सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको प्रादेशिक समितिका सदस्य शंकर श्रेष्ठले बताए । घोषणा पत्रमा पत्रकारिता पेशालाई मर्यादित बनाउन आचारसंहिताको पालना तथा नैतिक आचरणको प्रदर्शन गर्न आत्मसमिक्षा एवं विभिन्न कार्यक्रम मार्फत प्रेरित गर्ने, पत्रकारको पेशागत र भौतिक सुरक्षाकासाथै अग्रज पत्रकारहरुका पेनसनका लागि सरकारको ध्यानाकषर्ण गराउने, विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवि पत्रकारको हकहित तथा संवद्र्धनका लागि विना कारण कामबाट निकालिएका पत्रकारको पुर्नबाहली गर्न नेपाल पत्रकार महासंघ प्रदेश २ ले आवश्यक पहल गर्ने, कोरोना संक्रमणको कारण ज्यान गुमाएका पत्रकार, प्रभावित भएका सञ्चारकर्मी तथा सञ्चारगृहलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गर्ने लगायतका विषय उल्लेख छन् ।
नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क बहादुर क्षेत्रीले स्वागत गर्नुभएको कार्यक्रममा प्रेस काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि भट्टराई, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य द्वोय शिव पुरी र केसी लामिछाने, अकोराबका केन्द्रीय सदस्य कृष्ण कुमार एस्माली, अकोराबका प्रदेश २ अध्यक्ष मनोज यादव लगायतले मन्तव्य व्यक्त गरेका छन् ।
बैठकमा उपस्थित पत्रकारहरुलाई मलङ्गवा नगरपालिकाको सौजन्यमा एक÷एक थान प्रेस ज्याकेट समेत प्रदान गरिएको पत्रकार महासङ्घ प्रदेश २ का कोषाध्यक्ष विश्वनाथ ठाकुरले बताए ।





