महोत्तरी- महोत्तरीको औरही नगरपालिका र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) बीच सहकारीहरूको लागि तयार पारिएको कार्यक्रम ‘आधारशिला’ को लागि आज सम्झौता भएको छ।
सम्झौता पत्रमा औरही नगरपालिकाको तर्फबाट नगर प्रमुख सुनिल कुमार यादव, निमित्त प्रमुख प्रशासकिय अधिकृत निलाम्बर मिश्र र नेफ्स्कुनका तर्फबाट अनुगमन अधिकृत श्यामराज तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।
सो अवसरमामा जिल्ला सहकारी संघ महोत्तरीको सदस्य तथा औरही सहकारी सञ्जालका संयोजक रामनारायण साह उपस्थिति रहेको थियो।
औरही नगरपालिकाका सबै प्रकृतिका सहकारीहरूको स्तर उन्नती तथा नीति विधि र प्रविधिमा संचालन गर्नको लागि कार्यक्रमको सम्झौता भएको बताइएको छ।
तीन वर्षसम्म सञ्चालन हुने यस कार्यक्रमले सहकारीहरूको अवस्था मापन ,नीति तथा संस्थागत परामर्श सेवा प्रदान, सहकारी सचेतना कार्यक्रम सञ्चालन ,आधारभुत लेखा व्यवस्थापन तालिम, स्थानीय तहलाई नीतिगत तथा संस्थागत क्षमता विकास परामर्श, बचत तथा ऋण व्यवस्थापन तालिम ,व्यवसाय विकास तालिम जस्ता कार्यक्रमहरू सञ्चालन गर्नेछ।
यो आधारशिला कार्यक्रममा सम्झौता गर्ने औरही नगरपालिका महोत्तरी जिल्लाको पहिलो नगरपालिका हो।
प्रदेश २ को सबै स्थानीय तह संग सम्झौता गरी सञ्चालन गर्ने लक्ष्य लिएको नेफ्स्कूनका अनुगमन अधिकृत तिमल्सिनाले बताए।