धनुषा- कोरोना संक्रमण बढ्दै गएपछि धनुषामा मास्क नलगाउनेलाई स्थानीय प्रशासनले जरिवाना तिराउने भएको छ ।
जिल्ला प्रशासनले मास्क नलगाउनेलाई अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ ।
संक्रमण बढ्दैगएपनि सर्वसाधारणहरुमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि स्थानीय प्रशासनले कडाई गर्ने भएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा मास्क लगाउन दुई दिन चेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए । शुक्रबार र शनिबार चेतनामूलक कार्यक्रम गरिने र त्यसपछि पनि मास्क नलगाउनेबाट जरिवाना असुल गरिने उनले बताए ।
आइतबारदेखि मास्क नलगाउनेसँग रु १ सयका दरले जरिवाना असुली गरिने प्रजिअ पौडेलले भने ।
शुक्रबारदेखि मास्क लगाउन भन्दै चेतनामूलक कार्यक्रम गर्दा नलगाउनेलाई मास्क पनि वितरण गरिएको छ । जनकपुरधामको मुख्य बजार क्षेत्रमा मास्क लगाउन जनचेतनामूलक कार्यक्रम गरिएको छ ।