जनकपुरधाम - नेकपा एमालेका भ्रातृ संगठनका नेता कार्यकर्ताहरुले आज जनकपुरधाममा सरकार विरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र यातायात मन्त्री रेणु यादवको पुतला दहन गरेका छन् ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको तथा हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवलाई सरकारले बर्खास्त गर्न नचाहेको भन्दै युवा संघले पुतला दहन गरेका हुन्।
राष्ट्रिय युवा संघ, अनेरास्ववियु र अखिल नेपाल पिछडा वर्गले जनकपुरधामको रेल्वे स्टेशनबाट निकालेको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरी जनक चौकमा पुगेर पुतला दहन गरेका थिए ।
प्रधानमन्त्रीले मन्त्री यादवलाई नहटाएको भन्दै उनीहरूले नारावाजी पनि गरेका छन् । उनीहरूले मन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, स्थानीय चुनावको मिति तोक्नुपर्ने लगायत माग गरेका छन् ।
कानुन हातमा लिएर आफ्नो पदीय मर्यादा भुलेर हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवलाई प्रधानमन्त्रीले बर्खास्त नगरे थप आन्दोलन गर्ने समेत उनीहरूले चेतावनी दिएका छन् ।
गत बुधबार बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा भएको सभामा मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएकी थिईन्।
मन्त्री यादवले आफ्नो मर्यादाको समेत ख्याल नगरी गौर नसंहारलाई जोडेर अभिव्यक्ति दिएपछि चौतर्फी विरोध हुँदै आएको छ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश अध्यक्ष जानी खान मधेसीले अगामी निर्वाचनमा एमाले दुई तिहाई बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए ।