जनकपुरधाम। परीक्षा स्थगित गरेको भन्दै मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) विरुद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने अथवा भौतिक उपस्थितीमा नै स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने, नभए आन्तरिक मूल्यांकनद्वारा नतिजा प्रकाशन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।विद्यार्थीहरुले ३ वर्षको कोर्षलाई ५ वर्षसम्म पुर्याउनका लागि पटक-पटक परीक्षा स्थगित गरिएको आरोप लगाएका छन् ।प्रदर्शनको क्रममा विद्यार्थीहरुले सडक अवरुद्ध गरी चक्काजाम गर्न खोज्दा स्थानीय मुरलीचोकमा प्रहरीले उनीहरुमाथि सामान्य बल समेत प्रयोग गरेका थिए ।कोरोना संक्रमण तीव्र गतिमा फैलि रहेको र परीक्षार्थीहरूको संख्या पनि बढी भएकोले सीटीइभीटीले परीक्षा स्थगित गरेको जनाएको छ।परिषद्ले माघ १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र माघ २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।परिषद्ले माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो तर परिषद्ले कोरोनाको तेस्रो लहरका कारणले परीक्षा स्थगित गरेको छ ।