जनकपुरधाम- मधेश प्रदेशसभा सचिवालयले प्रदेशसभा अन्तर्गतका लामो समयदेखि रिक्त बिभिन्न बिषयगत समितिहरुको सभापति चयन प्रक्रिया शुरु गरेको छ ।
प्रदेशसभा सचिवालयले आज सुचना प्रकाशित गरी प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयन प्रक्रिया शुरु गरेको जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले प्रदेशसभामा रिक्त उक्त समितिका सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ताको लागि सुचना जारी गरेका छन् ।
सूचनामा विषयगत संसदीय समितिहरु सभापतिका लागि उम्मेदवारी दर्ता गराउन सचिवालयले आह्वान गरिएको छ ।
जारी गरिएको सूचनामा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ मा सोमवार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जनाइएको छ ।
प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने कानूनी व्यवस्था रहेको छ । तर लामो समयदेखि सो समितिको सभापति पद रिक्त छ ।