जनकपुरधाम- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बेला नकुबेला प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग विभिन्न मुद्दाहरुबाट बँच्न तथा गठबन्धन बँचाउन र स्थानीय तहको निर्वाचनलाई धकेल्नका लागि रहेको बताएका छन् ।
आज मंगलबार जनकपुरधाममा नेकपा एमालेले स्थानिय तह निर्वाचन केन्द्रित आयोजना गरेको मधेश प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका उपाध्यक्ष पोखरेलले पत्रकार सम्मेलनको आयोजना गर्दै महाअभियोग ल्याउनुको पछाडि तीन/चार वटा पक्ष रहेको बताए ।
उनले भने, ‘सभामुख अग्निप्रसाद सापकोटामाथि ज्यान मार्ने उद्योगको मुद्दा चलिरहेको छ, त्यो टाउकोमा झुण्डिएको तरवार जस्तै हो । त्यसबाट नेपाली कांग्रेसलाई डाइभर्ट गर्ने, गठबन्धन कायम गर्न, एमसीसी पास गर्न महाअभियोग लगाइयो । यस साथै ‘नेकपा एमालेले माधव नेपाल सहित १४ सांसदलाई संसदीय दलको बैठकबाट कारवाही गरेर चिठ्ठी पठाएको थियो, त्यसको आधारमा निष्काशन गर्नुपर्ने थियो, पेशी तोकिएको थियो । त्यसलाई छल्नका लागि पनि प्रधानन्यायाधीशमाथि लगाइएको हो।’
उपाध्यक्ष पोखरेलले माओवादी अध्यक्ष प्रचण्डको नक्कली खेलका कारण एमसीसीको बिबाद सृजना भएको बताउँदै उनले प्रचण्डले पार्टीका नेता कार्यकर्ता, गठबन्धन तथा विदेशी शक्तिलाई फरक फरक कुरा गरेर भ्रममा पारेर नक्कली खेल खेलिरहेको बताए ।
एमसीसी देउवा र प्रचण्ड कै सरकारको पालामा स्वीकृत भएको भन्दै उनले एमालेको पालामा संसदमा टेवल मात्र भएको बताए। पोखरेलले एमसीसी सम्झौता आफुहरुको पालामा नभएको र अहिले सत्तागठबन्धन दलसँग १ सय ६५ सांसद रहेकाले एमसीसी पास हुन सक्ने बताए।नेता पोखरेलले गठबन्धनलाई अप्राकृतीक भन्दै संघियता पटकै नरुचाउने चित्र बहादुर केसी, परम्परागत संसदिय प्रणालीको वकालत गर्ने र प्रत्यक्ष कार्यकारी प्रमुखको मांग गर्ने सबै गठबन्धनमा रहेकाले यो गठबन्धन विचित्रको रहेको टिप्पनी गरे ।
नेपालको राजनितिमा अहिले मुख्य दुई धार रहेकोमा एकको नेतृत्व एमालेले गरिरहेको र अर्कोको नेतृत्व कुनै एकले नभई एमाले विरोधी सबैले गरिरहेको उनको तर्क छ । उनले सिमा, राष्ट्रिय स्वाधिनता, राष्ट्रियताको सवालमा एमाले कसैसंग सम्झौता नगर्ने बताए ।