इटहरी । धरानमा रहस्यमय घटना भएको छ । धरान–४ स्थित धरान–भेडेटार सडक खण्डमा पर्ने आँपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिएको छ ।
बुधबार जेब्रा झोलाभित्र टाउको र खुट्टा भेटिएको थियो भने बिहीबार शरीरका अरू भाग पनि भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार बुधबार साँझ सुरुमा जेब्रा झोलाभित्र टाउको र घुँडामुनिको भाग भेटिएको थियो ।
शवको बाँकी भाग खोज्ने क्रममा बिहीबार बिहान करिब डेढ किलोमिटर उत्तर अर्को झोलामा शरीरको भाग पनि प्रहरीले भेट्टाएको छ । शवको पहिचान नहुँदा अनुसन्धानमा सकस भएको एसपी थापाको भनाइ छ ।
‘यस्तो प्रकृतिको घटना अहिलेसम्म भएको थिएन,’ एसपी थापाले राजधानीसँग भने, ‘हिजो टाउको र खुट्टाको भाग भेटिएपछि आज ५० जना पुलिस खटाएका थियौं ।’ उनका अनुसार बिहीबार बिहान प्रहरी खटाएर खोजी गर्ने क्रममा सोही प्रकृतिको जेब्रा झोलामा शरीरको अन्य भाग पनि भेटिएको हो । जंगलमा भेटिएका शरीरका विभिन्न भागलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेर सूक्ष्म ढंगबाट अनुुसन्धान सुरु गरिएको एसपी थापाले बताए ।
‘शवको पहिचानै नभएकाले अनुसन्धानमा समस्या भएको छ, उनको घरमा पनि केही समस्या थियो कि, केही भन्न सक्ने अवस्थै छैन,’ उनले भने, ‘घटना कतिदिन अघिको भन्ने पनि यकिन भएको छैन, रहस्यमय घटना भएकाले अनुसन्धानका क्रममा छौं ।’ घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र प्रदेश १ प्रहरीको (आरआईटी) समूह परिचालित रहेको एसपी थापाले जानकारी दिए ।
बुधबार दिउँसो जंगलमा दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि जेब्रा झोला खोलेर हेर्दा मानव शरीर रहेको भेटियो । मानव शरीर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।