धनुषा - जनकपुरधाम उप–महानगरपालिका–१९ स्थित जारी झण्डा मेलामा आयोजित पहलमानी प्रतियोगितामा सहभागी भएका नेपाली पहलमान देवा थापा आकर्षणको केन्द्र बनेका छन् ।
पहलमान थापालाई मात्रै भिडियोहरुमा हेर्नेहरु अहिले सामुन्नेमा हेर्दा उत्साहित देखिएका छन् । जनकपुरधाम उप–महानगरपालिका–१९ बेंगा शिवपुरमा ५२ विघा स्थित हनुमान गढीमा जारी झण्डा मेलामा आएका हजारौं व्यक्तिको पहलवानी (कुस्ती) हेर्न भीड लाग्ने गरेको छ ।
मेला समिति संयोजक लक्ष्मेश्वर यादवका अनुसार पहलमानीमा नेपालका थापा बाहेक नरेश गिरी र राजा पहलमानका साथै तीनजना महिला पहलमानहरु छन् भने भारतको दिल्लीका जलाद सिंह, बनारसको भुन्टी, अयोध्याको कल्लु बब्बर र बनारसकै नरेश बुमरी र तीनजना महिला पहलमान पनि सहभागी भएका छन् । आइतबार नेपालका पहलमान देवा थापा र भारतका ठाकुर जल्लाद सिंह बीच खेल हुँदा अत्यधिक रोमाञ्चित भएको थियो । अन्ततः देवालाई नै विजयी भएको घोषणा गरिएको थियो ।
झण्डा मेलामा नेपाल भारतको पहलमान सहभागी पहलमानी, झरी, सांस्कृतिक कार्यक्रमहरुको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलामा भव्य झण्डाको स्थापना गरिएको बताउंदै आयोजकले फागुन १० गते सम्म चल्ने मेलामा सहभागिताका लागि अनुरोध गरेको छ ।




