महोत्तरी- नेपाली काँग्रेस महोत्तरीको नेतृत्व चयनका लागि भोलि २० फागुनमा हुन लागेको निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ ।
जिल्ला सभापतिको लागि यहाँ तीन जना मैदानमा उत्रिएका छन् । नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन् । पौडेल पक्षकै केहि नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताको भनाइ छ ।
पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले देउवा समूहका उम्मेदवारलाई समर्थन गरेपछि पौडेल प्यानलबाट उम्मेदवारी दिएका बजरङ्ग नेपाली कमजोर भइसकेको उनीहरूको दावी छ । तर, आफ्नै प्यानलका उम्मेदवारलाई रामचन्द्र र किरणले किन असहयोग गरिरहेका छन् भन्ने बिषय नेता कार्यकर्ताबीच चर्चामा छ । पौडेल समूहकै छलफलबाट उम्मेदवार बनेका नेपालीलाई अन्तिम समयमा आएर धोका हुन लागेको पौडेल समुहको निष्कर्ष छ ।
‘अधिवेशन त निश्चित भयो तर, आफ्नै प्यानलका नेताहरुले धोक्का दिने स्थिति बन्दैछ’ काँग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने । पौडेल प्यानलमा समेत रहेका पाठकले बजरङ्ग नेपालीले जित्ने निश्चित हुँदाहुँदै रामचन्द्र तिवारी र किरण यादवले विपक्षी प्यानलमा लविङ्ग गरेको आरोप लगाए ।