जनकपुरधाम - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशको पर्यटन प्रवद्र्धनका लागि आजदेखि मधेस प्रदेशको भ्रमणको क्रममा जनकपुरधाम आईपुगेका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्री पोखरेल सहितको टोली शनिबार जनकपुरधाम आइपुगेका हुन् ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा गत असोज ६ गते मधेश प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेका थिए ।
मुख्यमन्त्री पोखरेल बुद्ध एयरले आजदेखि शुभारम्भ गरेको जनकपुर-पोखरा, पोखरा-जनकपुर सिधा हवाई सेवा शुभारम्भको अवसर पारेर जनकपुरधामको धार्मिक पर्यटक भएर आएका हुन् ।
मुख्यमन्त्री पोखरेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले प्रदेश सरकारको तर्फबाट स्वागत गरेका थिए।
मुख्यमन्त्री पोखरेलको स्वागतका लागि मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पनि स्वागत विमानस्थल पुगेका थिए ।
मधेस प्रदेशको भ्रमणमा आएका मुख्यमन्त्री पोखरेलले विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै आजको दिन ऐतिहासिक दिन भएको बताउँदै यसलाई शब्दमा बयान गर्न नसकिने बताए ।
उनले भने, ‘पोखरबाट जनकपुरधाम आउँदा करिब ४०/४५ मिनेट समयमा जुन मेरो अनुभूति निकै भावनात्मक रह्यो।’
मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको बताउँदै मधेस प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।उनले जनकपुर- पोखरा हवाई सेवाको शुभारम्भले दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।
मुख्यमन्त्री पोखरेलले दुबै प्रदेशलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन रहेको बताउँदै उनले भने, ‘दुबै प्रदेशको समृद्धिको मुख्य अधार पर्यटन भएकोले पर्यटकीय कोरिडोर बनाउने आधार र सम्भावनाहरु पनि पहिचान गर्ने र सम्भावना देखिएको योजनामा मधेससँग सहकार्य गर्नेछौं।’
उनले संघीयतालाई संस्थागत गर्न, मजबुत बनाउन प्रदेश सरकारको सम्बन्ध सुदृढ हुनुपर्ने मान्यताका साथ भ्रमणका लागि आएको बताए ।
मधेस प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले जनकपुर पोखरा हवाई उडानको शुभारम्भ ऐतिहासिक भएको बताउँदै दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने बताए।
३ दिने मधेश प्रदेशको भ्रमणमा आएका गण्डकीका मुख्यमन्त्री नेपालीको भ्रमण टोलीमा मुख्यमन्त्री पोखरेल सहित अर्थमन्त्री रामजी प्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपुर्ती मन्त्री मणिभद्र शर्मा कँडेल, गण्डकी प्रदेशका मुख्यसचिव रविलाल पन्थ, पर्यटन उद्योग तथा वाणिज्य आपुर्ती मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल लगायत सहभागी रहेका छन् ।
बुद्ध एयरले अहिले हप्तामा तीन दिन र पछि यात्रुको चाप हेरेर थप गरिने जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवरले जानकारी दिए ।
बुद्ध एयरले सोमबार, बिहीबार र शनिवार जनकपुरधाम-पोखराको उडान भर्ने भएको छ ।
यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुग्दा मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए ।
मुख्यमन्त्री पोखरेलले आजै मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रसँग मुख्यमन्त्री पोखरेलले शिष्टाचार भेटघाट समेत गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले आजै नेपालको एक मात्र जनकपुर जयनगर ब्रोडगेज रेल सेवामा चढेर कुर्था रेल्वे स्टेसन सम्मको यात्रा समेत गरे ।
मधेस प्रदेशका उद्योग पर्यटन तथा वातावरण मन्त्री महतोको अनुसार मुख्यमन्त्री पोखरेलको भोली आईतवार बिहान १० बजे बर्दिबासमा उनको स्वागतको कार्यक्रम आयोजना गरिएको छ। स्वागत कार्यक्रम सकेर मुख्यमन्त्री नेपाली सहितको टोली भ्रमणका लागि सर्लाहीको भरत ताल र रौतहटको नुनथर पुग्ने छ। त्यहाँबाट बाराको गढीमाई मन्दिर दर्शन गरेर जनकपुर फर्किनेछ।
त्यसैगरि मुख्यमन्त्री पोखरेलले सोमबार बिहान महोत्तरीको जलेश्वर स्थित जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्री नेपालीको औपचारिक मधेश प्रदेश भ्रमण सम्पन्न हुने र सोही दिन पोखराका लागि प्रस्थान गर्ने मुख्यमन्त्री पोेखरेलको कार्यक्रम रहेको उद्योग पर्यटन तथा वातावरण मन्त्री महतोले जनाए ।