जनकपुरधाम - पर्साको एक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीच कुटाकुट भएको छ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरी बीच कुटाकुट भएको हो । उपाध्यक्ष चौधरीले गाउँपालिकाको ८ औं गाउँसभा र अन्य विकास निर्माण सम्बन्धमा जानकारी लिन खोज्दा आफूलाई अध्यक्ष सहित वडाअध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन् ।
यता अध्यक्ष जैसवालले सामान्य विवाद भएपछि उपाध्यक्ष चौधरीले आफू माथि पानीको बोत्तल फ्याएर हिर्काएको दाबि गरे । अध्यक्ष चौधरीले घटना पश्चात आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यक्षले दुव्र्यवहार गरेको जनाए । उनले भने, ‘ आइतवार आफ्नो कार्यकक्षमा उपाध्यक्ष ५ जना वडाध्यक्ष सहित बसेर कुराकानी गरिरहेकोबेला म सोहि बेला त्यहाँ पुगे, कुराकानी कै क्रममा उपाध्यक्षल ८ औं गाउँसभाबारे किन जानकारी नदिएको भनि कराउन थालिन्, विभिन्न आरोप लगाउँदै मनोमानी गर्ने भन्दै उग्र बन्न थालेपछि मैले गाउँपालिका अध्यक्षसँग यसरी बोल्ने हो, सिष्ट भएर बोल्नुस के भनेको थिएँ उहाँले तैले मलाई बोल्न सिकाउने भन्दै टेबुलमा रहेको बोत्तलले म माथि प्रहार गरिन् ।’
अध्यक्ष जयसवालले उपाध्यक्षले बोतल उठाएपछि मजाक गरेहोला भनेको त बोत्तल प्रहार गरेर हिर्काइ हालिन् अनि झन अभद्र व्यवहार गरिन् ।’त्यस अघि आईतवार उपाध्यक्ष चौधरीले अध्यक्ष सहितको समूहले आफूलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।गाउँपालिकाका अन्य कर्मचारीहरूले उपाध्यक्ष चौधरीले अध्यक्ष जयसवाललाई चप्पलले समेत हिर्काएको बताउँदै सबै घटना सीसीटीभी क्यामेरामा कैद भएको जिकिर गरे ।
दुव्र्यवहार गरेपछि उपाध्यक्षका भाइ र वडा ५ का अध्यक्षले उनको हात समाएर कार्यकक्ष बाहिर निकालेका थिए ।अध्यक्ष जयसवालले आफू संग यो दुव्र्यवहार भएपनि आफ्नै बेइज्जतीको डर कतै केहि गुनासो नगरेको, ‘तर उपाध्यक्ष चौधरीले राति नारायणी अस्पतालमा भर्ना भई केही सञ्चारकर्मीहरुलाई बोलाएर अध्यक्षले कुटपिट गरेको आरोप लगाएपछि आफू घटना सार्वजनिक गर्न बाध्य भए।’ अध्यक्ष जयसवालको अनुसार कार्यकक्षमा सीसीटीभी जडान भएको कुरा उपाध्यक्षले याद नगरेको भएर यस्तो गलत आरोप लगाएको बताए ।
उपाध्यक्ष चौधरीले भने अध्यक्षले आफूलाई अपशब्द बोलेपछि बाध्य भएर चप्पल उठाएको बताईन्। उनले भनिन्, ‘मैले चप्पल हिर्काएको सीसीटीभीमा कैद भयो तर, अध्यक्षले म माथि प्रयोग गरेको अपशब्द भाषा र गाली कैद भएको छैन, अपशब्द भाषा नबोलेको भए मैले चप्पल उठाउँदैनथे ।’ उनका अनुसार ‘आफूले गोप्य रुपमा गाउँसभा गर्नुभयो, मेरो अधिकारबाट मलाई बञ्चित राख्नुभयो, किन त्यस्तो गर्नुभयो भनेरसोधेँपछि अध्यक्षले मलाई थाहा छैन भने अनि फेरि पनि मैले सोधेँ पछि अध्यक्षले गाली गर्न थाले ।
गाली नगर्नुस् भनी आग्रह गर्दा अपशब्द बोल्न थोले अनि बाध्य भएर चप्पल उठाएँ ।’ उनले अध्यक्षको निर्देशनमा केहि वडाध्यक्ष सहितकाले आफूलाई एउटा कोठामा थुनेर समेत राखेको बताईन् । उपाध्यक्ष चौधरीले भनिन्, ‘कुटपिटबाट मेरो शरीरमा निलडाम बसेको छाती र पिठ्युँमा चोट लागेको छ ।अब कारबाही र कानुनी उपचारको लागि प्रहरी प्रशासनमा जाहेरी दिन्छु ।’
यता अध्यक्ष जयसवालले पनि उपाध्यक्ष विरुद्ध प्रहरीमा उजुरी दिने बताए । यसरी अध्यक्ष र उपाध्यक्षको झगडाले गाउँपालिकाको कामकाज प्रभावित हुनुको साथै सोमबार दिनभर गाउँपालिका बन्द रहेको स्थानीय रामकिशोर चौधरीले बताए।




