जनकपुरधाम- स्थानीय निर्वाचनको लागि म्यादी प्रहरीको भर्नाका भर्ना खुलाइएपछि आवेदन दिनेहरुको जिल्ला प्रहरी कार्यालय धनुषामा ठूलो संख्या भीडभाड देखिन थालेको छ।
प्रहरी प्रधान कार्यालयले आह्वान गरेको म्यादी प्रहरीको भर्नाका लागि पहिलो दिन देखि नै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी भिड लागेको छ ।
धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका गरि कुल १८ वटा स्थानीय तह रहेको छ । यसका लािग धनुषामा ३ हजार भन्दा बढी म्यादी प्रहरी माग गरिएको छ ।
आवेदन दिन पुग्नेहरुमध्ये अधिकांश पुरुष नै रहेका छन् । महिलाको संख्या न्यून देखिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले धनुषामा कुल ३ हजार ४ सय ८६ जना म्यादी प्रहरीको कोटा रहेको बताए । उनले म्यादी प्रहरीमा महिला र पुरुषको कोटा नछुट्याएको भन्दै आवेदनको आधारमा भर्ना गरिने जनाए ।
म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो । म्यादी भर्नाको आवेदन चैत ६ गते देखि ११ गतेसम्मको समय दिइएको छ ।
आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ देखि प्रशिक्षण सुरु गर्नेछ ।