महोत्तरी । स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मधेस प्रदेशमा ६ वटा राष्ट्रिय दल बाहेकका २१५ वटा दलहरु दर्ता भएका छन् ।६ चैतसम्म निर्वाचन आयोगले निर्वाचनका लागि जिल्लाहरूमा दल दर्ता गराउनु पर्ने समयसीमा तोके अनुसार यस प्रदेशका जिल्ला निर्वाचन कार्यालयहरूमा २१५ वटा दल दर्ता भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण चन्द्र राउतले जानकारी दिए।
सुचना अधिकारी राउतको अनुसार सबैभन्दा बढी रौतहटमा ३० र सबैभन्दा कम महोत्तरीमा २० वटा दल दर्ता भएका छन् । त्यसैगरी सर्लाहीमा २९, बारामा २९ र सप्तरीमा २८ वटा दल दर्ता भएका छन् भने पर्सामा २७, धनुषामा २६ र सिरहामा २६ वटा दल दर्ता गरिएको छ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ता खुलाएकोमा संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम दल दर्ता गरिएको छ ।
स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन तथा नियमावली २०७३ अनुसार आयोगले चुनाव चिन्ह उपलब्ध गराउने गरेको छ । स्थानीय तहको निर्वाचनमा सहभागि हुने राष्ट्रिय दल बाहेक अन्य दललाई भने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सो दलको आफ्नै निर्वाचन चिन्ह प्रयोग गर्न पाउने आयोगले निणर्य गरेको थियो ।
दर्ता भएका दलहरुले निर्वाचनमा आफ्नै चुनाव चिन्ह पाउने सुचना अधिकारी राउतले जनाए । उनले भने, ‘मतपत्र छाप्न र निर्वाचन प्रक्रिया सजिलो होस भन्ने उद्देश्यले जिल्ला जिल्लामा पनि दल दर्ता गरिएको हो । आयोगमा पहिले नै दल दर्ता भइसकेको छ ।’ निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ भने १३ चैतमा आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ।
सुचना अधिकारी राउतले निर्वाचन आयोगले धनुषाका हरेक पालिकामा केही दिनमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गर्ने जानकारी दिए । उनले मतदाता शिक्षाको कार्यक्रम पनि सुरु हुन बाँकी रहेकोले जिल्लाहरूमा नमूना मतदान कार्यक्रम पनि हुने जनाए । मतदाता शिक्षाका लागि भने सामाजिक परिचालक र स्वास्थ्य स्वयंसेवकहरू पनि खटाउन बाँकी नै रहेको उनले जनाए ।


