जनकपुरधाम : आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा राष्ट्रिय मान्यता प्राप्त दलसहित ३२ वटा दलहरू दर्ता भएका छन् ।
निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलहरू दर्ता भएको जानकारी दिएका हुन् ।
यो पटक धनुषामा मतदानस्थल घटेका छन् भने मतदान केन्द्र बढेका छन् । यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३२७ मतदानस्थल र ५४८ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल घटेर ३२३ पुगेको छ भने मतदान केन्द्र बढेर ५९६ पुगेको छ । जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै पालिकाहरूमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेका छन् ।
निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम धनुषा जिल्लाका लागि जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश व्रजेश प्याकुरेललाई २०७८ चैत २९ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
त्यस्तै, निर्वाचन आयोगले औरही गाउँपालिकामा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव रजेश शशि, कमला नगरपालिकामा जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला, क्षीरेश्वरनाथ नगरपालिकामा धनुषा जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत रुपेश कुमार साह, जनकनन्दनी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ठूलोबाबु दाहाललाई निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै, धनुषाधाम नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत चिरञ्जिवी गौतम, धनौजी गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय जनकपुरका उपन्यायाधिवक्ता पोषराज खनाल, नगराइन नगरपालिकामा मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुदीप कुमार दंगाल, बटेश्वर गाउँपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोडारी, मिथिला नगरपालिकामा न्याय परिषद्का उपसचिव दीपक धिताल, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरी पौड्याललाई निर्वाचन अधिकृत बनाइएको छ ।
उता, लक्ष्मीनिया गाउँपालिकामा शिक्षा विकास निर्देशनालयका उपसचिव चुडामणि फुँयाल, मिथिला बिहारी नगरपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार राजु पराजुली, विदेह नगरपालिकामा गृह मन्त्रालयका उपसचिव अनुज भण्डारी, शहीदनगर नगरपालिकामा परराष्ट्र मन्त्रालयका विशाल भट्टराई, सबैला नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत बासुदेव पाण्डे र हंसपुर नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृत तोकेको छ ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा धनुषामा मात्रै ४ लाख ६७ हजार ३२८ जना मतदाता रहेका छन् । जसमध्ये महिला २१ लाख ८ हजार ५४२, पुरुष २४ लाख ८ हजार ८४० र अन्य समूहका ६ जना छन् ।
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन अभिमुखीकरण कार्यक्रम १ वैशाखमा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, धनुषा र रौतहटका लागि जनकपुरधाममा र बारा र पर्साका लागि २ वैशाखमा हेटौंडामा गर्ने जनाएको छ ।