काठमाडौं। केपी ओली नेतृत्वको सरकार। साल २०७२ । संविधान जारी भए लगत्तै मधेशमा चलिरहेको आन्दोलन। नेपालमा भारतको अघोषित नाकाबन्दी। मधेशी आन्दोलनकारीहरूले नेपाल–भारत सीमा नाका अवरुद्ध गरिरहेका थिए। आन्दोलनको मुख्य तारो बनाइएका थिए, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली। आन्दोलनकारीहरूको मुख्य केन्द्र बनेको थियो, नेपालको वीरगन्ज र भारतको रक्सौल जोड्ने मितेरी पुल। त्यस ठाउँको आन्दोलनको नेतृत्वकर्ता थिए, तत्कालीन नेपाल सद्भावना पार्टीका नेता शिव पटेल। वीरगन्जका कहलिएका नेता भएकाले पनि उनी त्यहाँको आन्दोलन व्यवस्थापनमा अग्रणी भूमिकामा थिए।
उनै पटेल ९ चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरे। उनलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले भने, “जय मधेशवाला नारा बोक्ने एक मात्र पार्टी एमाले हो।”
अन्य पार्टीबाट आफ्नोमा प्रवेश गराउने यो लहर मधेश प्रदेशमा मात्र सीमित नभई देशैभरका तराईका अन्य जिल्लामा पनि जारी छ।
खासगरी मधेश प्रदेशका जिल्लाहरूमा एमालेले विगतको तुलनामा सक्रियता बढाएको पाइन्छ। तर परिदृश्यको अर्को पाटो के हो भने, विगतमा एमालेको विपक्षमा रहेका वा मधेश आन्दोलनमा लागेकाहरू नै अहिले एमाले प्रवेश गरिरहेका छन्। यस्तो किन भइरहेछ त ?
मधेशको राजनीतिलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक विजयकान्त कर्ण यसलाई दुई ओटा कोणबाट हेर्न सुझाउँछन्।
“पहिलो, मधेश केन्द्रित दलका नेताहरूबाट ती पार्टीका स्थानीय नेताहरू विश्वस्त हुन नसकेका हुन्”, कर्ण भन्छन्, “दोस्रो, एमाले र त्यसका अध्यक्ष ओलीको अन्ततः मधेशबिना पार्टी चल्न सक्दैन भन्ने स्वीकारोक्ति पनि हो यो। नेपालमा मधेश नै छैन भन्ने नेताले आज ‘जय मधेशको नारा आफ्नो पार्टीको नारा हो’ भन्नुको अर्थ उनले मधेश आन्दोलनलाई स्वीकार गर्नु पनि हो।”
मधेशका स्थानीय नेताहरू पार्टी प्रवेश गर्नुलाई भने उनले चुनावी सम्भावना र उम्मेदवारको टिकट पाउने अभिलाषाले काम गरेको बताए।
कर्णकै जस्तो धारणा छ एमाले प्रवेश गरेका वीरगन्जका नेता शिव पटेलको पनि। मधेश आन्दोलनको भावना अनुसार मधेशी नेताहरूले एउटै पार्टी बनाउन नसकेको र स्थानीय नेता–कार्यकर्तालाई बेवास्ता गरेकाले आफू एमाले प्रवेश गरेको उनले बताए।
“स्थानीय तह निर्वाचनमा भाग लिने नेता–कार्यकर्ताबारे मधेशकेन्द्रित दलहरूका शीर्ष नेता गम्भीर छैनन्, उनीहरू आफू सहभागी हुने संघीय निर्वाचनका लागि मात्रै काम गर्छन्”, पटेलको आरोप छ।
अघिल्लोपटक तत्कालीन राजपाबाट पर्साको बहुदरमाई नगरपालिकाको अध्यक्षका उम्मेदवार रहेका पटेल यसपटक एमालेबाट उठ्दै छन्।
एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य पद त्यागेर एमाले फर्किएका नेता यदुवंश झा भने ठूला पार्टीलाई बदनाम गरेर आफ्नो स्पेस बनाउने राजनीति मधेशकेन्द्रित नेताहरूले गरिरहेको भए पनि त्यो असफल भएको विश्लेषण गर्छन्।
“मधेश आन्दोलनमा केपी ओलीलाई निशाना बनाइनु नै मधेशी पार्टीहरूको गलत काम थियो”, झा भन्छन्, “ठूला पार्टीलाई मधेश विरोधी भनेर आफूहरू तिनै नेता र पार्टीको शरणमा गएपछि मधेशमा भ्रमको पर्दा हटेछ।”
स्थानीय नेताहरू जहाँ बढी अवसर देख्यो, त्यहाँ जानु सामान्य भएको उनको टिप्पणी छ।
त्यतिबेला आन्दोलनमा लागेर एमाले र ओलीको आलोचना गर्नेमध्ये अहिले एमाले प्रवेश गर्ने पटेल एक्ला होइनन्। त्यसअघि वीरगन्जका मेयर विजय सरागवी पनि एमाले प्रवेश गरेका छन्, उनै ओलीको हातको टिका लगाएर। उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट वीरगन्जका मेयर भएका थिए सरागवी। सोही दिन नै ओलीले बाराको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारीलाई पनि एमाले प्रवेश गराएका थिए।
त्यसो त १९ पुसमा पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य यदुवंश झा नै एमाले प्रवेश गरेका थिए।