
काठमाण्डौं- सत्तारुढ पाँच दलीय गठबन्धनमा वडासम्मै तालमेल गर्ने गरी छलफल अघि बढेको छ।
आवश्यकता र स्थानीय विशेषताका आधारमा तालमेलका लागि सहमति जुटाएका सत्तारुढ पाँच दलले वडा सदस्यदेखि महानगरको मेयरसम्मका पद पनि बाँड्ने तयारी गरेका हुन्।
‘सम्भवतः सबै वडासम्मै तालमेल हुने सम्भावना छ’, एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले भने, ‘त्यसकै लागि जिल्ला र पालिकाको वस्तुस्थिति बुझ्न लागेका छौँ।’
तलैसम्म तालमेलका लागि पाँचै दलले आगामी चैत २२ गतेभित्र तथ्यांकसहितको प्रतिवेदन केन्द्रमा बुझाउने समयसीमा दिएर सर्कुलर पठाएका छन्। उनीहरुले प्रमुख प्रतिपक्षी एमालेको समेत अवस्था बुझेर पठाउन मातहत कमिटीहरूलाई भनेका छन्।
आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय लिइसकेको अवस्थामा गठबन्धनका दलले त्यसलाई जिल्ला र पालिकास्तरमा लैजान सर्कुलर पठाएका हुन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाले आफ्ना जिल्ला तहमा गठबन्धनबारे छलफल गर्न निर्देशन पत्र पठाएका हुन् ।
त्यसअनुसार शुक्रबार दिनभर जिल्ला तहमा गठबन्धनको बैठक बसिरहेको छ । शनिबार बिहानदेखि पालिकास्तरमा छलफल गर्ने कार्यक्रम छ ।
स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय लिएलगत्तै कांग्रेसले ७७ वटै जिल्ला सभापतिलाई पत्र पठाएको थियो ।
जिल्लालाई शुक्रबार नै उपयुक्त समयमा बैठक राख्न आग्रह गर्दै कांग्रेसले सर्कुलर पठाएको थियो ।
बिहीबार नै माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको केन्द्रले पनि विहीबार नै तल्लो तहलाई कांग्रेससहितको बैठकमा सहभागी हुन र आफ्नो बलियो पक्षबारे रिपोर्ट पेश गर्न सर्कुलर पठाएको हो ।
केन्द्रले पठाएको निर्देशनअनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लामा शुक्रबार दिनभर बैठक बसिरहेको छ । केही स्थानमा बस्ने तयारी छ ।
कांग्रेसले केन्द्रीय कार्यालयबाट गठबन्धनबारे निर्णय गर्नुअघि जिल्ला र पालिका स्तरमा २०७४ सालको स्थानीय तहमा भएको निर्वाचनमा दलहरुले पाएको मत संख्या समेत उल्लेख गरेर त्यसबारेको जानकारी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।
पालिकाको बैठक भोलि (शनिबार) राख्न पत्र पठाइएको छ । गठबन्धनको दलहरुले शनिबार कांग्रेसकै अगुवाईमा बैठक बस्ने कार्यक्रम तय भएको छ ।
कांग्रेसले देशभरको जिल्ला र पालिकालाई छुट्टा छुट्टै पत्र पठाए जस्तै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले पनि कांग्रेससहितको गठबन्धनका बैठकमा सहभागी हुन निर्देशन पठाएका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले केन्द्रबाट सर्कुलर पठाएको पुष्टि गरे ।
‘हामीले केन्द्रमा कांग्रेससहितको गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरेका छौँ,’ दाहालले सर्कुलर उद्धृत गर्दै नेपालखबरसँग भने, ‘अब जिल्ला तह र पालिकास्तरमा पनि छलफल गरेर गठबन्धनबारे साझा धारणा बनाइ केन्द्रमा पठाउनू।’
केन्द्रबाट प्राप्त सर्कुलर अनुसार शुक्रबारै कांग्रेससहितको बैठक बसेको जानकारी दाहालले दिए।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय हुँदै प्रदेश कार्यालयबाट जिल्ला तहलाई सर्कुलर पठाएको छ ।
एकीकृत समाजवादीले पनि मातहतका निकायलाई सर्कुलर पठाएको केन्द्रीय सदस्य अमृत तिमल्सिनाले त्यसबारे जानकारी दिए।
जिल्लामा रहेका स्थानीय तहबीच बाँडफाँटको निर्णय लिनुअघि गठबन्धन दल बसेर पहिलो चरणको रिपोर्ट केन्द्रमा पठाउनेछन्।
त्यस आधारमा बाँडफाँटको मोडालिटीबारे फेरि छलफल गर्न केन्द्रमा पाँच वटै दलमा दुई दुई जना सहभागी गराएर संयन्त्र बनाउने तयारी छ ।
एक नेताका अनुसार ७ सय ५३ वटै स्थानीय तहको अवस्था केन्द्रमा प्राप्त भएपछि चुनावी तालमेलको मोडालिटी सहित निर्णय गर्ने अधिकार जिल्ला र पालिकालाई दिने तयारी छ।