काठमाडौँ– मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान मधेस प्रदेशमा चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन गरिने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले विशेष अभियानअन्तर्गत हुन लागेको टाइफाइडविरुद्धको खोप कार्यक्रम नियमित खोपसँगै सञ्चालन गर्ने तयारी भएको पनि जानकारी दिए । मधेश प्रदेशका आठ जिल्लामा खोप लगाउने उमेरका १७ लाख ८७ हजार ७१० जना रहेको जनाउँदै स्वास्थ्य निर्देशनालयले कम्तीमा पनि ९५ प्रतिशत लक्षित वर्गलाई खोप लगाउने तयारी भइरहेको जनाएको छ । नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । खोप पूर्ण रूपमा सुरक्षित तथा टाइफाइडबाट बचाउन पूर्ण सक्षम रहेको अनुसन्धानबाट पुष्टि भएकाले निर्धक्क भएर खोप लिन निर्देशक झाले सबैलाई आग्रह गरे ।