काठमाडौं- सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने अडान लिएका छन्।
स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भइरहेका बेला अध्यक्ष नेपालले एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताएका हुन्। उनले एमालेले जितेको ठाउँमा जित्नु छ भने आफ्नो पार्टीले मात्रै जित्न सक्ने भन्दै टिकट बाँडफाँडमा यसलाई ख्याल गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गरेका छन्।



पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा यत्तिकै टिकटको दाबी नगर्ने पनि बताए। तर एमालेसँग प्रभाव भएका मान्छेहरु आफ्नो पार्टीसँग नजिक भएकाले जित हासिल गर्न आफ्नो पार्टीलाई सहज हुने उनको तर्क थियो।
यसैगरी, अध्यक्ष नेपालले चुनावी तालमेलका लागि तलका कार्यकर्ताको कुरा सुन्न नहुने बताएका छन्। केन्द्रबाटै गठबन्धनको निर्णय गर्नुपर्ने उनको भनाइ थियो।




