जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह चुनावका लागि आज टिकट वितरण गर्ने भएको छ । आज पालिका प्रमुख र उपप्रमुखको टिकट वितरण पार्टीले गर्न लागेको नेता बिपी साहले जानकारी दिए ।
उनका अनुसार पार्टीले तय गरेका उम्मेदवारहरुलाई केन्द्रीय सचिवालय जनकपुरधामबाट मनोनयन पत्र वितरण गर्ने जनमत पार्टीले निर्णय गरेको हो । यस्तै वडाध्यक्षहरूको मनोनयन पत्र वितरण वैशाख ७ र ८ गते हुने उनलेे बताए । मधेश प्रदेशका उम्मेदवारलाई केन्द्रीय सचिवालय जनकपुरधाम, प्रदेश नम्बर १ का उम्मेदवारलाई विराटनगर र लुम्बिनी प्रदेशका उम्मेदवारलाई भैरहवाबाट टिकट वितरण गर्ने तयारी छ ।



नेता साहका अनुसार उम्मेदवारहरूले मनोनयन पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ। उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नु पर्ने पार्टीले निर्णय गरेको छ ।
वैशाख ३० मा हुने स्थानीय चुनावमा जनमत पार्टीले सबै ठाउँमा उम्मेदवारी दिने जनाएको छ ।




