
जनकपुरधाम- धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेबाट एकल निणर्य गराएर मेयर टिकटको सिफारिस गराएको निवर्तमान मेयर हरिनारायण महतोको टिकट अन्तिम समयमा आएर खोसिएको छ।
एमालेबाट मिथिला नगरपालिकाको मेयरमा राजाराम महतोले टिकट प्राप्त गर्न सफल भएका छन्।
राजाराम पूर्व रियलस्टेट व्यावसायी हुन्। २०७४ को निर्वाचनमा काँग्रेसबाट टिकट नपाउँदा स्वतन्त्र उम्मेदवार बनेर उनले चुनाव लडेका थिए। राजाराम काँग्रेसको बागि उम्मेदवार भएपछि एमालेबाट हरिनारायणलाई जित्न त्यतिबेला सहज भएको थियो।
एमाले धनुषा जिल्ला अध्यक्ष रहि सकेका हरिनारायणले टिकट वितरणमा नेता रघुवीर महासेठले मनोमानी गरेको आरोप लगाए। उनले टिकट वितरणमा रातारात खेल भएको र आज सोमबार बिहानमात्रै आफूलाई टिकट नदिने निणर्य भएको जानकारी प्राप्त गरेको बताए। उनले अब आफूले के गर्ने बारे थप रणनीति बनाउन नेता कार्यकर्तासँग छलफल गरिरहेकोे बताए।
रोचक कुरा त के छ भने यस अघिको चुनावमा काँग्रेसको बागि बनेर चुनाव लडेका राजारामलाई हरिनारायणले नै पहल गरेर एमालेमा प्रवेश गराएका थिए। निवर्तमान मेयर हरिनारायण एमालेका केन्द्रीय सदस्य समेत हुन्।