काठमाडौं। स्थानीय तह निर्वाचनका लागि उम्मेदवारविरुद्ध उजुरीको चाड लागेको छ। आइतबार र सोमबार मुख्य निर्वाचन अधिकृत कार्यालय, निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका विभिन्न पार्टीका उम्मेदवारविरुद्ध उजुरी पर्न थालेका छन्। ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चिरीबाबु महर्जनविरुद्ध उजुरी परेको छ।
चिरीबाबुलगायत ललितपुर महानगरकै पाँच जनाविरुद्ध उजुरी परेको हो।
नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जरी शाक्यविरूद्ध पनि उजुरी परेको छ। समानुपातिक निर्वाचनतर्फ बन्दसूचीमा शाक्यको नाम भएकोले उनीविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत सिवाकोटीले बताए।
यस्तै कोसी अस्पताल सञ्चालक समिति सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगर उपप्रमुखमा उम्मेदवारी दिएको उजुरी परेपछि नेकपा एमालेकी शिल्पा निराला कार्कीले मंगलबार राजीनामा दिएकी छन्।
सरकारको निर्णयविरुद्ध कार्कीसहितका पदाधिकारी सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले उनीहरूको पक्षमा फैसला सुनाएपछि कार्कीसहितका पदाधिकारी पुनःबहाली भएका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले कार्कीसहित चार जना उम्मेदवारविरुद्ध उजुरी परेको बताएका छन्।
बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध उजुरी परेको छ। नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले थापाविरुद्ध उजुरी दर्ता गरेका छन्। काठेखोला वडा नम्बर ३ मा महिला सदस्य पदकी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की देउरुपा खड्काविरुद्ध पनि उजुरी परेको छ। एमालेबाट महिला सदस्यकी उम्मेदवार टुल्कीदेवी खड्काकले उजुरी दर्ता गरेकी हुन्।
यस्तै लम्जुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ६ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको छ। नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदावर मिनराशी गुरुङले दाबी विरोध उपर उजुरी दिएकी हुन्।
कतिलालाई अदालतले एक महिना कैद र रु १२ हजार जरिवाना तोकेको र सो कैद भुक्तानी गरिसकेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। साथै सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ। उनको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा उम्मेदवारी रद्द भएको हो।


