यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले १८० भन्दा बढी पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएको छ । ती पालिकाका १ हजार २ सयभन्दा बढी वडा अध्यक्षसहितको उम्मेदवारी दर्ता गराएको जनमत पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले जानकारी दिए ।
मधेस प्रदेशको सबैजसो पालिकाका साथै प्रदेश नम्बर १ को उदयपुर, सुनसरी, मोरङसहितका केही पालिका, लुम्बिनी प्रदेशको अधिकांश पालिका र बागमती प्रदेशका केही पालिकामा गरी १८० भन्दा बढी स्थानीय तहमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्यसहितका पदमा उम्मेदवारी दर्ता गराएको जनमत पार्टीले जनाएको छ ।
०७४ को स्थानीय तहको निर्वाचनको बेला तत्कालीन स्वतन्त्र मधेस गठबन्धनको नेतृत्व गरेका डा। सीके राउतले ‘कोठली बाहर मत’ को अभियान चलाएका थिए ।
त्यसपछि अलगाववादको आन्दोलनलाई बिसाउँदै जनमत पार्टीको गठन र स्थापनासँगै सो पार्टीले उपनिर्वाचन अन्तर्गत एक गाउँपालिका अध्यक्षसहित ८ वटा वडामा उम्मेदवार खडा गरेको थियो । यद्यपि सो पार्टीका उम्मेदवारले पाएको मत निराशाजनक नै रह्यो ।
आसन्न निर्वाचनका लागि जनमत पार्टीले धेरै अघिदेखि तयारी गर्दै आएको थियो । जनमत पार्टीका महासचिव सिंहले सामुदायिक स्वराजका लागि प्रत्यक्ष लोकतन्त्रको अनुभूति गराउन आफ्नो पार्टी निर्वाचनमा होमिएको बताए ।
उनले यस निर्वाचनमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्यहरु तथा जिल्ला पार्टीका पदाधिकारी तथा सदस्यहरु पालिका तथा वडा केन्द्रित भएर परिचालित रहेको जानकारीसमेत दिए । आफ्नो पार्टीले संगठन निर्माण तथा विस्तारदेखि बुथ परिचालन कमिटी र आन्दोलन परिचालन कमिटीसमेत निर्माण गरिसकेको उनको भनाइ छ । आसन्न निर्वाचनमा जनमत पार्टीको उपस्थिति र पकड निकै राम्रो रहेको दाबी गरे ।
उनले भने, ‘स्थानीय तहको निर्वाचन अघि नै हामी किसान आन्दोलनमा सक्रिय थियौँ, निर्वाचन आएपछि हामीले आन्दोलन र निर्वाचनलाई सँगै लैजाने योजना अनुसार पार्टी कमिटी, भ्रातृसंगठन, आन्दोलन परिचालन संगठन, बुथ परिचालन समितिलगायत विभिन्न कमिटी गाउँगाउँमा वडास्तरसम्म गठन गरिसकेका छौं, त्यसैले हाम्रो जित सुनिश्चित छ ।’
उनले आसन्न निर्वाचनमा ५० वटाभन्दा बढी पालिकामा जित हासिल गर्नेगरी जनाधार निर्माण र संगठन विस्तार गरिएको बताए ।