
जनकपुरधाम- स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिएकाहरु मध्ये सर्लाहीका विभिन्न स्थानीय निकायका १७ उम्मेदवार विरुद्ध उजुरी परेको छ ।
मुख्य निर्वाचन अधिकृत ध्रुबकुमार पियाले जनाए अनुसार उजुरी पर्नेमा सबैभन्दा धेरै सर्लाहीको बसबरिया गाउँपालिकामा सातजना र बागमती नगरपालिकामा चार जना विरुद्ध रहेको छ ।
त्यस्तै बलरा र लालबन्दीमा २—२ जना, कविलासी, रामनगर र ब्रम्हपुरीमा एक-एक उजुरी दर्ता भएको छ ।
ती उजुरीमाथि आज छानबिन हुँदै गरेको र दोषी प्रमाणित भए उम्मेदवारी रद्द गरिने मुख्य निर्वाचन अधिकृत पियाले जानकारी दिए।
बलराको प्रमुखका उम्मेदवार अभयकुमार सिंह र बाग्मती नगरका प्रमुखका उम्मेदवार भरतकुमार थापा विरुद्ध पनि उजुरी परेको छ ।
अन्य पालिकामा पनि विभिन्न उम्मेदवार विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
थापा विरुद्ध प्रहरीको कार्बाहीमा मारिएका कुमार पौडेलका बुबा खिलराज पौडेलले उजुरी दिएका हुन् ।
पौडेल घटनामा मृतकका बुबाले दिएको किटानी जाहेरीमा थापाको नाम समेत भएको र सर्वोच्च अदालतले पनि छानविन गर्न आदेश दिएको उल्लेख गरिएको छ ।
त्यस्तै सिंह विरुद्ध बेरुजु तिर्नुपर्ने र पेश्की फछ्र्यौट गर्नुपर्ने भन्दै उजुरी परेको हो ।
महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरको लेखापरीक्षण प्रतिवेदन अनुसार रु. ११ करोड ८० लाख १८ हजार बेरुजु देखिएको र रु पाँच करोड ३६ लाख ८४ हजार असुल उपर नै गर्नुपर्ने उल्लेख गरिएको छ ।
सिंह र अर्का एकजना वडाध्यक्ष विरुद्ध उजुरी परेको बलराका निर्वाचन अधिकृत रंजितकुमार यादवले जानकारी दिए ।