जनकपुधाम । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जित्दै आएको इतिहास दोहोर्याउने प्रयासमा जनकपुर अघि बढेको देखिएको छ।
जनकपुरको इतिहास हेर्दा बागी वा स्वतन्त्र उम्मेदवारहरू जहिले पनि दलगत उम्मेदवारका सामु भारी साबि भएको देखिन्छ । सोहि इतिहासलाई मध्यनजर गर्दै जनकपुरमा अहिले स्वतन्त्र उम्मेदवारी दिएकाहरु हौसिएका छन् ।
०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाले जित हासिल गरेकोलाई अपवाद मान्ने हो भने जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वमा दलको उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारहरुले जित्दै आएको देखिन्छ ।
यस स्थानीयतह निर्वाचनको लागि जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि मेयर पदमा २१ र उपमेयर पदमा १० जनाले उम्मेदवारी दिएका छन् । जसमा राजनीतिक दलको तर्फबाट मेयर पदमा १० र ११ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने ४ जना स्वतन्त्र रुपमा उम्मेदवार छन् ।
उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा रीता कुमारी मिश्रले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी रुना झाले उम्मेदवारी दर्ता गराएकी छिन् ।
करिब एक साताअघि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेबाट बागी उम्मेदवार बनेर उपमेयरमा सरोज कुमार मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी नेपाल जनता पार्टी नेपालबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेय उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट विद्रोह गरी तराई मधेश लोकतान्त्रिक पार्टीबाट प्रवेश गरेकी विभा ठाकुरले मेयर र ईश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । जनकपुरधामको मेयर पद मै नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी छन् ।
यता मेयरमा स्वतन्त्ररुपमा काँग्रेसबाट राजीनामा दिएका मनोजकुमार साह, निर्माण व्यवसायी बलराम महतो, संचारउद्यमी वैद्यनाथ साह, श्यामकिशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पँजियार र सुधीर कुमार महतोले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी बनेका उमेश चौधरी र कुमारी बनिता यादवले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरीले पनि उपमेयरमा बागी बन्दै उम्मेदवारी दर्ता गराएका छन् ।
एक पटक जनकपुरको इतिहास हेरौं
तत्कालीन पञ्चात सरकारले नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम ०१७ जेठ १३ मा जनकपुर नगरपालिका गठन गरेको थियो। त्यसबेला श्यामसुन्दर शर्मालाई पञ्च सरकारले सीधै ‘अध्यक्ष’ बनाएको थियो। त्यसपछि तत्कालीन राजा महेन्द्रले ०१७ साल कै पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्चायत’ राखेका थिए।
तर ०१७ सालदेखिको इतिहास हेर्दा जनकपुरमा ०७४ मा बाहेक कुनै दलले नेतृत्व गरेका स्थिती छैन।
२०४६ मा प्रजातन्त्रको पुर्नस्थापना पश्चात २०४७ जेठ २८ मा नगरपालिका ऐन अनुसार नगरपालिका बनेको जनकपुरमा २०४९ मा सम्पन्न स्थानीय निर्वाचनमा मेयरका लागि काँग्रेस पार्टीका दुईजना आकांक्षी थिए । दिगम्बर राय र वृषेशचन्द्र लाल । पार्टीले दिगम्बर रायलाई टिकट दिएपछि वृषेशचन्द्र लाल असन्तुष्ट भएर स्वतन्त्ररुपमा उम्मेदवारी दिए । निवर्तमान मेयर लालकिशोर साहले पनि त्यतिबेला काँग्रेसबाट असन्तुष्ट हुँदै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
सो निर्वाचनमा दलका उम्मेदवार सामु स्वतन्त्र उम्मेदवार नै भारी साबित भए र मेयरमा बृषेशचन्द्र लाल र उपमेयरमा लालकिशोर साह निर्वाचित भए ।
पाँच वर्षपछि २०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट दामोदरप्रसाद उपाध्यायले मेयरमा टिकट पाए र टिकट नपाएपछि काँग्रेसबाट असन्तुष्ट भएका बजरंगप्रसाद साहले मेयरमा स्वतन्त्र उम्मेदवारी दिए । साहले पञ्चायतकालमा दुईपटक प्रधानपञ्च बनेका उपाध्यायलाई पराजित गर्दै स्वतन्त्र बाट मेयरमा निर्वाचित भए ।
त्यसपछि दुई दशक देशमा निर्वाचनमा हुन सकेन । ०५४ सालपछि लामो समय स्थानीय तहको निर्वाचन हुन नसक्दा ०७४ सालमा भएको स्थानीय निर्वाचनमा स्वतन्त्रले जितेको ‘ट्रेण्ड’ भत्कियो। तत्कालीन राजपाका लालकिशोर साह नगर मेयरमा निर्वाचित भए। यो जनकपुरमा पहिलोपटक दलको उम्मेदवारले जित हात पारेको थियो।
यसरी हेर्दा ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाले निकालेको जितलाई अपवाद मान्ने हो भने यहाँ दलको उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारलाई फापेको देखिन्छ ।
काँग्रेसभित्र रहेका विभिन्न गुट उपगुटले एकअर्कालाई पाखा लगाउने गरेका कारण विगतदेखि नै काँग्रेसबाट असन्तुष्ट रहेकाहरुले बागी उम्मेदवारी दिने गरेको र जनकपुरधाम उपमहानगरमा उनीहरु नै निर्वाचित समेत हुँदै आएको इतिहासले हौसिएर कांग्रेसबाट असन्तुष्ट भएर बागी उम्मेदवारी दिएका मनोज साहले पनि आफ्नो जित हुने दाबी गरेका छन्।
उनले गठबन्धन (कांग्रेस) भित्रै असन्तुष्ट रहेका कार्यकर्ताले आफूलाई मत हाल्ने आँकलन गर्दै चुनाव जित्ने दाबी गरेको छ।
राजनीति विश्लेषकहरुले पनि विगतको चुनावी ट्रेन्ड, अन्य उम्मेदवारहरुको परीक्षण भइसकेको र गठबन्धनमा रहेका दलहरु भित्रै चर्को असन्तुष्टि भएका कारण मनोज साहको स्थिती बलियो देखिएको बताउँछन् छन्।
राजनीतिशास्त्री सोम शर्माले भने, ‘जनकपुरमा फेरि स्वतन्त्र(बागी) उम्मेदवारले जीत निकाल्दै इतिहास दोहार्याउने अवस्था आउला भन्न सकिन्न।’
शर्माले २०७४ को सिनारियो अर्कै भएको र अहिलेको अर्कै रहेको बताउँदै उनले भने, ‘त्यतिबेला मधेस आन्दोलनको ह्युम र सेन्टिमेन्टले काम गरेको हुनुपर्दछ। अनि जनताले पनि नयाँ पार्टीलाई एक पटक चान्स दिने भन्ने हिसाबले जनकपुरमा मात्र हैन मधेस प्रदेशका अधिकांशमा जिल्लाका स्थानीय तहमा जिताएर पढाएका थिए ।तर अहिलेको अवस्था फरक छ । मधेसवादी दलहरु पनि फुटेको छ। एमाले पनि फुटेको छ। जनकपुर गठबन्धनबाट चुनाव लडेपनि स्थानीय नेता कार्यकर्ताहरु असन्तुष्ट छन्। यस्तो अवस्थामा स्वतन्त्र(बागि) उम्मेदवारलाई फाइदा हुने अवस्था रहेको देखिन्छ।’