बीबीसी । आगामी शुक्रवार हुने स्थानीय तह निर्वाचनको लगभग सबै “तयारी पूरा भएको” निर्वाचन आयोगले जनाएको छ । देशका सबै जिल्लामा मतपत्र पुर्याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटाउने कार्य सम्पन्न भइसकेको र उनीहरू चाँडै सम्बन्धित मतदान केन्द्रमा पुग्ने आयोगको भनाइ छ। आयोगका अनुसार मतदान अधिकृत लगायतको टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि बुधवार र बिहीवार मतदाता परिचयपत्र वितरण हुने छ ।
नयाँ संविधान जारी भएपछि सङ्घीय गणतन्त्र नेपालमा दोस्रो पटक स्थानीय तह निर्वाचन शुक्रवार हुन लागेको हो । कति छन् मतदाता ? यसपालिको चुनावमा वैशाख २९ गते अर्थात् निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने आयोगले जनाएको छ । त्यसका लागि देशैभरि १० हजार पाँचसय भन्दा बढी मतदानस्थल र झन्डै २२ हजार मतदान केन्द्र तोकिएको छ। निर्वाचन आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठ भन्छन्, “मतपत्रहरू सबै जिल्लामा पुगिसकेको अवस्था छ ।
त्यो मतपत्र हामी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सम्बन्धित मतदान अधिकृतहरूलाई बुझाउने कामहरू पनि भइरहेको अवस्था छ ।” निर्वाचन आयोगकाअनुसार यसपालिको स्थानीय तह निर्वाचनमा २४ लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गाउने अधिकारीहरूको भनाइ छ ।
पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदातापत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि त्यहि दिन मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ । तर मतदाता नामावलीमा नाम प्रकाशित भए पनि परिचयपत्र नभएकाको हकमा के हुन्छ भन्ने कुराको निर्णय आयोगले हालसम्म पनि गरेको छैन ।