जनकपुरधाम- मंगलवार देखि अनिश्चित समयका लागि स्थगित गरिएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना कार्य तीन दिन पछि पनि सुचारु हुन सकेको छैन ।
एमालेले मत परिणाममा तलमाथि गरिएको आरोप लगाउँदै पुनः मत गणना गर्नुपर्ने अडान राखेको छ । क्षीरेश्वनाथ नगरपालिकाको निर्वाचन अधिकृत विकास बस्नेतले लगातार गणना सुरु गर्ने प्रयास गरिएको भएपनि अहिलेसम्म गणना सुरु गर्न सहमति नजुटेकाले गणना सुरु हुन नसकेको बताए ।



बुधवार ३ घण्टा चलेको सर्वदलिय बैठक बिना निष्कर्ष सम्पन्न भएको थियो । पटक पटक बसिरहेको सर्वदलीय बैठकबाट सहमति नजुट्दा गणना सुरु हुन नसकेको निर्वाचन अधिकृत विकास बस्नेतले बताए ।
निर्वाचन अधिकृत विकास बस्नेतले भने, ’ सबै मतपत्र गनेर रुजु भई सकेको र बाँकी रहेको अन्तिमको ३९ वटा मतपत्र जुन गनेर रुजु नभएको बालालाई पुनः रुजु गर्न हामी तयार छौं । तर एमालेले एउटा केन्द्र पुरा मत गणना पुनः गर्नु पर्ने अडान कायम राखेकोले मतगणना सुरु हुन सकेको छैन ।’
दलका प्रतिनिधिहरुले मतगणनाको विषयमा विवाद सिर्जना गरेकोले सूचना जारी गर्दै मंगलवार दिउँसो देखि मतगणना कार्य स्थगित गरिएको छ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत वडा नम्बर-५ को क्षिरेश्वर मावि (ङ) मतदान केन्द्रको मतगणना कार्य भईरहेको अवस्थामा दलका प्रतिनिधिहरुले सो विषयमा विवाद सिर्जना गरेकोले सहज ढंगले मतगणना कार्य अगाडि वढाउन सकिने अवस्था नभएको हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि मतगणना कार्य स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत बस्नेतले यस विवादको सम्बन्ध केन्द्रिय निर्वाचन आयोगलाई लेखि पठाएको र तर उताबाट अहिले सम्म कुनै निर्देशन नआएको बताए । उनले माथिबाट आउने निर्देशन बमोजिम अघि बढ्ने जनाए ।
निर्वाचन अधिकृत बस्नेतले अहिले पनि दुबै पक्षलाई विभिन्न विकल्पहरु सहित छलफलको वातावरण बनाई रहेको बताए । उनले दुबै पक्षलाई छलफलमा राखी सहमति भएमा अहिलेको विवाद भएको वडाको मतगणना थाँती राखेर बाँकी रहेको ६ वटा वडाको मतगणना अगाडि बढाउने सन्दर्भमा पनि सहमति जुटाउने प्रयास गरिरहेको जनाए । उनले आज साँझ सम्म केहि न केहि निकास निस्किने बताए ।
यस नगरपालिकामा कांग्रेसबाट निवर्तमान मेयर योगेन्द्र पजियार, एमालेबाट सुखदेब यादव र एकीकृत समाजवादीबाट शिवशंकर प्रसाद सिंह उम्मेदवार छन्।
निवर्तमान मेयर पजियार र सुखदेव यादव बीच कडा प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो समय यादवले अग्रता लिएका छन्। पजियार कांग्रेसका जिल्ला सभापति समेत हुन्।
क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मा.वि. (ङ)मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले आन्दोलित भएका छ्न् । एमालेले अफ्नो उम्मेदवार १ मतले विजयी भएपनि निर्वाचन अधिकृतले पक्षपात गरेर काँग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाएका छन् । एमालेका अनुसार एमालेको उम्मेदवार १ मतले विजयी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने पर्छ।
यस विषय नेपाली काँग्रेसका धनुषा जिल्ला सभापति समेत क्षीरेश्वरनाथका मेयरका उम्मेदवारले आफूहरु विवाद सृजना भएको अन्तिमको ३९ वटा मतपत्रको पुनः रुजु गर्न तयार भएपनि एमालेले एउटा केन्द्रको पुरा मतगणना पुनः हुनु पर्ने अडान नछोडेकोले मतगणना अघि बढ्न नसकेको बताए । उनले आज साँझ सम्म निर्वाचन आयोगले केहि निकास दिने आश रहेको बताए।
यता एमालेले वडा नम्बर-५ को क्षिरेश्वर मावि (ङ) मतदान केन्द्रको मतगणना पुनः हुनै पर्ने अडान कायम नै राखेकोछ । नेकपा एमालेका सचिव तथा यस क्षेत्रका नेता रघुविर महासेठले पत्रकार सम्मेलनको आयोजना गरि मतगणनामा धाँधली भएको आरोप लगाउँदै पुनः मतगणना नभएसम्म मतगणना कार्य स्थगित रहने बताए ।




