काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेको जानकारी दिए ।
उनका अनुसार साहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार ५३८ मत पाएकी छन् भने तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले २० हजार ९६५ मत पाएका छन् ।यसैगरी विवेकशील साझाकी समीक्षा अधिकारीले ४१५ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठ ३ हजार ४२९ मत पाएका छन् । उपमेयरमा एमालेकी सुनिता डंगोलले ३८ हजार ३५१ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाएका छन् ।
यस्तै राप्रपाका उम्मेदवार ७ हजार २३ मत पाएको पौडेलले जानकारी दिए । राजधानीको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मतगणना हुँदै आएको छ। मतगणना सुरु भएको ८ दिन बितिसक्दा अझै ४५ प्रतिशतको हाराहारीमा मतगणना हुन बाँकी रहेको छ ।