जनकपुरधाम – मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट असार १ गते ल्याउने तयारी थालेको छ । प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० को आर्थिक विनियोजन विधेयक(बजेट) आगामी असार १ गते ल्याउने तयारी थालेको जानकारी दिनुभयो ।
अर्थमन्त्री साहले मधेस प्रदेश सरकारले यही जेठ १९ गते दिनको १ बजे प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरिसकेको र सो सभामा जेठ २३ गते प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताए। मन्त्री साहले भने, ‘‘बजेटमा कृषि, वन, पर्यटन, उद्योग लगायत अन्य विषयलाई प्राथमिकता राखिएको छ। अगामी वर्षको बजेट उत्पादनमुखी केन्द्रीत हुन्छ ।



वितरणमुखी हुँदैन ।’’ उनले बजेट प्रस्तुत अघि विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु यही जेठ १९ गते बस्ने प्रदेश सभामा प्रिबजेट छलफलको लागि प्रस्तुत गरिने जानकारी दिए । मन्त्री साहले बजेट सार्वजनिक गरिनु अगाडि आकारप्रकार बारे बताउन नमिल्ने बताउँदै उनले विभिन्न कारणले सामान्यीकरण अनुदान, विशेष अनुदान र समपुरक अनुदानमा चालु वर्षकोभन्दा कम रकम विनियोजन हुन सकिने अनुमान रहेको बताए ।
प्रदेश सरकारले (तत्कालीन प्रदेश २ सरकार) आर्थिक वर्ष २०७८/०७९ का लागि लागि कुल ३३ अर्ब ६६ करोड ४२ लाख ८४ हजार रूपियाँको बजेट पारित थियो भने आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ५६ करोड नौ लाख ८९ हजारको बजेट थियो ।




