तस्बीर : उपेन्द्र यादव
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई यथाशिघ्र नागरिकता ऐन ल्याउन माग गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै यादवले अझै पनि लाखौ नेपाली नागरिकहरु नागरिकताविहीन भएको भन्दै तत्काल नागरिकता ऐन ल्याएर समस्याको हल गर्न माग गरेका हुन्।



यादवले भने, ‘अझै पनि लाखौ नेपाली नागरिकहरु नागरिकताविहीन छन्। आमाबुवाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्। तीनका सन्तान गैरनागरिक भएर बस्नुपरेको छ। तिनीहरुलाई नागरिकता दिने दायित्व राज्यको हो।’
राज्यले आफ्नो दायित्व पूरा नगर्दा ती नेपाली नागरिकका सन्तानहरु राष्ट्रियताविहीन अवस्थामा अधिकारबाट वञ्चित भएको अवस्थामा बाँच्न विवश भएको बताए। यादवले भने, ‘गल्ती राज्यले गर्ने सजाय राज्यले भोग्नुपर्ने? तत्काल नागरिकता ऐन पारित गरेर नागरिकता प्रदान गर्नुपर्छ।’




