
जनकपुरधाम - मधेस प्रदेशमा बजेट खर्चको अवस्था निराशाजनक देखिएको छ । आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा सरकारको खर्च न्यून देखिएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीले जेठ १५ गतेसम्म कुल विनियोजित बजेटको मात्र ३१ प्रतिशत मात्र खर्च भएको जानकारी दिए ।
उनकाअनुसार कुल बजेटको १० अर्ब ६१ करोड २४ लाख ६२ हजार रुपैयाँ खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा ३४ अर्ब २२ करोड सात लाख १३ हजार बजेट विनियोजन गरेको छ । जसमा चालुतर्फ कुल विनियोजित बजेटको ४१ प्रतिशत र पुँजीगततर्फ २२ प्रतिशत बजेट खर्च भएको छ ।
चालुतर्फको बजेट खर्च सन्तोषजनक देखिएपनि पुँजीगत (विकास बजेट) खर्चको अवस्था दयनीय देखिएको छ । पुँजीगततर्फ सरकारले १९ अर्ब १२ करोड १४ लाख सात हजार विनियोजन गरेको छ । जसमध्ये चार अर्व २४ करोड ९८ लाख ३८ हजार मात्र खर्च भएको कार्यालयले जनाएको छ ।
यस्तै, चालुतर्फ सरकारले १५ अर्ब २१ करोड ४८ लाख ६६ हजार बजेट विनियोजन गरेकोमा ६ अर्ब ३६ करोड २६ लाख २३ हजार रुपैयाँ खर्च भएको छ । संघीय सरकारले न्यून बजेट दिएको भन्दै मधेस सरकारले प्रत्येक वर्ष आपत्ति जनाउँदै आएको छ।
तर, मधेस सरकारले आफैँ विनियोजन गरेको बजेट खर्च न्यून देखिँदा सरकारका मन्त्रीहरूमाथि प्रश्न उठेको छ । सरकारले महत्वकांक्षी योजना समावेश गरी बजेट ल्याएपनि कार्यान्वयन निकै कमजोर देखिएको छ । सरकारको कार्यानव्यन पक्ष कमजोर हुँदा ६० प्रतिशतभन्दा बढी बजेट फ्रिज हुने सम्भावना बढेको छ । गत आर्थिक वर्षमा पनि सरकारको करिब ४८ प्रतिशत बजेट फ्रिज भएको थियो ।