सुनिता बराल,महोत्तरी - रेलमार्गका लिक घाँसले छोपिन थालिसके । लिकका फलामे डन्डी छरिएका छन् । जयनगर-जनकपुर-बर्दिवास रेलमार्गअर्न्तगत महोत्तरीको भंगाहास्थित बिजलपुरा स्टेसनमा रेल नहिँडेपछि स्थानीय गाई र बाख्रा लिकमै बाँधिरहेका छन् । सन् २०२० सम्ममा बर्दिवास रेल पुर्याउने सम्झौताअनुसार रेलमार्ग बनेको २ वर्ष नाघ्दा पनि भंगाहासम्मै काम सकिएको छैन ।
भंगाहाबाट बर्दिवासतर्फको १८ किलोमिटर रेलमार्गको काम भने मुआब्जा वितरणमै ढिलाइ हुँदा रोकिएको छ । भंगाहा नगरपालिका–५ स्थित विजलपुरा स्टेसनसम्मको काम पूरा नभएकाले रेल भंगाहासम्म सञ्चालन हुन नसकेको रेल विभागले जनाएको छ । बिजलपुरा स्टेसनसम्मको काम अझै बाँकी रहेकाले रेल भंगाहासम्म आउन नसकेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विभागका प्रमुख इन्जिनियर विनोद ओझाले बताए । पहिले भंगाहाबाट रेल चढेर जनकपुर गएकी भंगाहा–४ पलारकी सियानती देवी बातर फेरि रेल चढ्ने प्रतीक्षामा छिन् ।
जयनगर–जनकपुर हुँदै धनुषाको कुर्थासम्म अहिले रेल सञ्चालनमा छ । कुर्थाबाट भंगाहासम्म रेल सञ्चालन गर्न नेपाल–भारतका विज्ञ टोली गठन भइसकेकाले टोलीको सुझावअनुसार अबको २ महिनामा बिजलपुरा स्टेसनसम्म सञ्चालन गरिने इन्जिनियर ओझाले बताए ।
यता, महोत्तरीको भंगाहाबाट बर्दिवासतर्फको जग्गाको मुआब्जा वितरण सुरु भएको छ । १५ प्रतिशतले मुआब्जा लिइसकेका समितिका प्रमुख तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेवले बताए ।