जनकपुरधाम- मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/ ०८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले जेठ २२ गते प्रस्तुत गरेका प्रदेश सरकारको नीति तथा कार्यक्रम आज (बुधबार) बैठकबाट सर्वसम्मतिले पारित भएको हो ।



नीति तथा कार्यक्रममा भएका कमीकमजोरीबारे प्रदेश सभा सदस्यहरूले उठाएका सबालहरुमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि सर्वसम्मतले पारित भएको हो ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको नीति तथा कार्यक्रममा भएका कमी कमजोरीहरूलाई बजेटमा समावेश गरेर ल्याउने प्रतिबद्धता जनाएपछि नेकपा एमाले तथा लोसपाका प्रदेश सभाका सदस्यहरूले दर्ता गराउनुभएको संशोधन प्रस्ताव फिर्ता लिएका थिए । त्यसपछि नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।
नीति तथा कार्यक्रममा नेकपा एमालेका प्रदेश सभाका सदस्य सुन्दर बहादुर विश्वकर्मा, जसपाका प्रदेश सभाका सदस्य बच्चा राउत अहिर, लोसपाका प्रदेश सभाका सदस्यहरु परमेश्वर साह र वासुलाल साह कानुले संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
प्रदेश सभाको बैठकमा गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पेश गरेको सञ्चार ऐन २०७७ समेत सर्वसम्मतिले पारित भएको छ ।
अब प्रदेश सभाको अर्को बैठक जेठ २७ गते बस्ने भएको छ ।




