रौतहट । रौतहटमा शनिवार ट्रेक्टर दुर्घटना हुँदा च्यापिएर चालक गम्भीर घाइते भएका छन् । जिल्लाको देवाही गोनाही नगरपालिका–५ नारायण चौकमा शनिवार विहान को २ त ४०५१ नम्बरको ट्रेक्टर दुर्घटनामा चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ बकुलीयाका ३५ वर्षीय मेघनाथ पासवान घाइते भएका छन् ।
शनिवार विहान १० बजे मौलापुरबाट जयनगरतर्फ जादै गरेको अवस्थामा फलामको पाइप लोड भएको उक्त ट्रेक्टर अनियन्त्रित भई खेतमा पल्टेको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढी फलामको पाइप लोड गरिएको कारण अनियन्त्रित भई उक्त ट्रेक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।



खेतमा पल्टिएको ट्रेक्टरबाट च्यापिएर गम्भीर घाइते भएका चालक पासवानको गरुडा स्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ । ट्रेक्टरबाट च्यापिएर छटपटाइ रहेका चालक पासवानलाई जेसीवीको सहयोगले अचेत अवस्थामा बाहिर निकालिएको थियो । चलक पासवानको हात, खुट्टा, घाटी, टाउकोसहित शरीरको विभिन्न भागमा गम्भीर घाउ देखिएको छ ।




