ढल्केवर- आठौं चुरे दिवसको अवसरमा निबन्ध प्रतियोगीता गराइएको छ । ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले चुरे दिवसको अवसर पारेर ‘दिलिप र पर्यावरण’ शीर्षकमा निबन्ध प्रतियोगीता गराएको हो ।




चुरे दिवसको पूर्वसन्ध्यामा मिथिला नगरपालिका–६ ढल्केवर स्थित रहेको महेन्द्र माध्यमिक विद्यालयमा प्रतियोगीता गराइएको थियो । निबन्ध प्रतियोगीतामा नगरभित्रका विभिन्न विद्यालयका १४ जना छात्रछात्राहरु सहभागी भएका थिए ।

सहभागी प्रतियोगी मध्ये उत्कृष्ट चार विधाका छात्रछात्रालाई पुरस्कृत गरिएको ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानका सचिव फुलगेन मगहीले जानकारी दिए । उनका अनुसार प्रतियोगीतामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार वितरण गरिएको हो ।
प्रतियोगीतामा जनता मावि नक्टाझिजका दिवेश कुमार महतो प्रथम, महेन्द्र माविका हरिचन्द्र साह द्वितिय, विनायक ई.बो. स्कुलका अनुस्का तिमल्सिना, जनता मावि हरिहरपुरका तृतिय, चिल्ड्रेन ई..बो. स्कुलका एन्जिला शर्मा र न्यू होराईजन आवासिय ई.बो. स्कुल बेंगाडाबरका अजय कुमार महतोलाई सान्त्वना पुरस्कारबाट पुरस्कृत गरिएको सचिव मगहीले जनाए ।
उनीहरुलाई बिहिवार चुरे दिवसको अवसर पारेर धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही सामुदायिक वनमा अवस्थित ओमप्रकाश महतो दिलिप संरक्षण प्रतिष्ठानको दिलिप बाटिकामा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । पुरस्कृत हुने छात्रछात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले प्रमाणपत्र प्रदान गरेका थिए ।

२५ पौष २०७६ मा खोलाको अबैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ बर्षीय महतोको क्रसर डनले हत्या गरेका थिए । दिलिपलाई कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको थियो । हत्या गरेको आरोपमा तीन जना पुर्पक्षका लागि कारागारमा छन् ।
हत्या गरिएका पर्यावरण अभियन्ता दिलिपको सम्झनामा प्रतिष्ठान गठन गरिएको छ । प्रतिष्ठानले चुरे तथा पर्यावरण संरक्षणका निम्ति काम गर्दै आएको छ । प्रतिष्ठानलगायत जनमानसबाट उठेको दिलिपलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने माग सरकारले बेवास्ता गर्दै आएको छ ।




