जनकपुरधाम – सिरहाको लहान नगरपालिकामा कार्यालय समयमा अफिसमा नबस्ने २३ जना कर्मचारीसँग स्पष्टीकरण माग गरिएको छ। आइतबार नगरप्रमुख महेश चौधरीले कार्यालयमा छड्के गरेपछि कार्यालय समयमा अफिसमा धेरै कर्मचारी अनुपस्थित थिए। त्यसपछि उपस्थित नभएका तथा हाजिरी नभएका कर्मचारीसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम नन्द भुसालले नगरपालिकाको कार्यालयमा कार्यरत विभिन्न पदका स्थायी तथा करारका कर्मचारीसँग स्पष्टीकरण सोधेका हुन्। सावा १० बजे गरिएको छड्केमा २३ जना कर्मचारी परेको उनले बताए।
उनले भने, ‘कर्मचारीको हकमा दुईवटा विकल्प मात्र छ। एउटा कार्यालय आउनेबित्तिकै हाजिरी गर्नुपर्यो। आएर काम गरे पनि हाजिरी नभए हुँदैन। अर्को कुनै कर्मचारी समयमा आउन भ्याएन अथवा कामका लागि फिल्डमा खटेका छन् भने लगबुक भरेको हुनुपर्छ। लगबुकमा कति बजे निस्किने, कति बजे फर्किने लेखिएको हुन्छ। आफू भर्न नसके पनि फोनबाट भराउँदा पनि हुन्छ। अब केही व्यक्ति आएर पनि हाजिरी नगरेकाले उनीहरू पनि यसमा परेका छन्।’
प्रमुख प्रशासकीय अधिकृत भुसालले स्पष्टीकरण सोधिएकोमा पहिलो चरणमा लिखित रूपमै स्पष्टीकरण दिनुपर्ने भन्दै भने, ‘दोस्रो चरणमा गए सचेत गराइन्छ, त्यसपछि पनि सचेत भएन भने कारबाही प्रक्रियामा जान्छ।’
नगरपालिकाले प्रशासन शाखा, महिला शाखा, कार्यालय सहयोगी, इन्जिनियरलगायत विभिन्न फाँटका कर्मचारीसँग स्पष्टीकरण सोधेको छ।





