
जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र लोक दलबीच एकता भएको छ ।
आइतबार लोसपा नेपालको काठमाडौंस्थित कार्यालयमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रही मधेस तथा समग्र देश र जनताको अधिकार प्राप्तिको संघर्षलाई अझ उचाइमा पुर्याउन दुई पार्टीहरूबीच एकता भएको दुवै दलले घोषणा गरेका छन् । एकताले एकीकरणले समग्र देशभित्र रहेका उपेक्षित, पिडित, पिछडा वर्ग लगायत सम्पूर्ण मधेसी तथा अधिकारबाट बञ्चित नागरिकहरुको आवाजलाई अझ बढी मुखरित गर्ने दुवै दलले दावी गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र लोक दलबीच भएको चार बुँदे सहमतिमा लोक दलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नाम, झण्डा र छाप स्वीकार गर्ने, लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरूलाई सहमति अनुसारको स्थान र सम्मान लोसपा नेपालमा प्रदान गर्ने उल्लेख छ । त्यस्तै जिल्लादेखि केन्द्रसम्मका लोक दलका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गर्ने र लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरूलाई आउने संघ र प्रदेशको निर्वाचनमा लोसपा नेपालको प्रत्यक्ष एवं समानुपातिक उम्मेदवारीमा समुचित स्थान दिइने उल्लेख छ ।