महोत्तरी। महोत्तरीमा गरिव तथा विपन्न ३ परिवारलाई सहयोग गरिएको छ । महोत्तरी समाज सेवा कतार संस्था र महोत्तरी जिल्लामा संचालित रहेको महोत्तरी समाज सेवा नेपालको संयुक्त सहयोगमा ३ ओटा विपन्न परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
जिल्लाको बलवा नगरपालिका वडा न.८ बनौटा निवासी रन्जु देवीलाई १५ हजार सहयोग संस्थाद्वारा गरिएको छ । रन्जु देवीको घरायसी अवस्था कमजोर र श्रीमान रक्सिको कुलतमा फसी आफ्नो घरप्रति बेखबर रहेकोले उनलाई दैनिकी गुजारा गर्न समेत मुस्किल परेको छ । आफ्नो २ ओटा बच्चालाई पालन पोषण गर्न उनलाई निकै धौधौ परेको स्थानीय मनोज यादवले जानकारी दिए । रन्जु देवीको घर पनि असुरक्षित र टुटेफुटेको रहेको देखिएको छ ।



स्थानीय सरकारलाई गाउँलेहरु मिलि पटक पटक पहल गर्दा पनि वेवास्ता गरेको रन्जु देवीले गुनासो गरेकी छिन ।त्यस्तै मनारसिस्वा नगरपालिका वडा न.६ सरपल्लो निवासी स्थानीय नरेश ठाकुरकि छोरी अंकिता ठाकुरलाई आज ४८ हजार रकम संस्थाले उपचारको लागि सहयोग गरेको छ । ५-६ वर्षीय अंकिता ठाकुर मिर्गौला पिडित हुन् ।
त्यसैगरी औरही नगरपालिका वडा न.७ टिमकीया निवासी अनिता देवी यादवलाई पनि १५ हजार रकम सहयोग गरिएको छ । उनको श्रीमान स्व.रामचन्द्र यादवको विदेशमा (मलेसिया ) काम गर्न गएको बेला मृत्यु भएकोले उनको घरायसी अवस्था कमजोर भएपछी उनलाई सो रकम सहयोग गरिएको संस्थाका अध्यक्ष निरन्जन कुमार साहले जानकारी दिएका छन् ।
मानव सेवाको उद्देश्यले संचालित यस संस्थाले वर्षौदेखि विदेश तथा नेपालमा अलपत्र परेका ,समस्यामा परेका ,गरिव विपन्न तथा असहायहरुलाई विभिन्न किसिमको सहयोग गर्दै आएको कोषाध्यक्ष नवल किशोर साहले बताए । आगामी दिनहरुमा पनि समस्यामा परेको जोकोहीलाई पनि आफ्नो संस्थामार्फत निस्वार्थ रुपमा सक्दो सहयोग गर्ने संस्थाका अध्यक्ष साहले बताएका छन् ।




