
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका एक वडा अध्यक्षले एउटै व्यक्तिको दोहोरो नागरिकता दिन सिफारिस गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।
जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि जनकपुरधाम उपमहानगरपालिकाका निर्वतमान वडाध्यक्ष रमेश ठाकुर र सचिव माधव राय फरार भएका हुन् । उनीहरुले मुखियाट्टी मुसहरनिया स्थित तुलसियाही जब्दीबाट एउटा नागरिकता लिइसकेका आनन्द मिश्रलाई अर्को नागरिकताको लागि सिफारिस गरेका थिए ।
अदालतले उनीहरुलाई त्यही नागरिकता दिएको अभियोगमा नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ पूर्जी जारी गरेको हो । दोहोरो नागरिकता लिएका आनन्द असार पहिलो साता नै पक्राउ परेका थिए । अहिले उनीमाथि अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका आनन्दसँग नेपालको दुई र भारतीय मतदाता कार्ड पनि रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकोछ । मुद्दा परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्दा दुई नेपाली र एक भारतीय मतदाता परिचय पत्र समेत फेला परेको बताइएको छ ।
धनुषाको मुखियाट्टी मुसहरनिया स्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए ।
वडा अध्यक्ष ठाकुरले नागरिकता प्राप्त गरेका आनन्द मिश्रलाई जनकपुरधाम वडा ८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिस गरिएको पाइएको छ ।
त्यसपछि मिश्रले २०७८ मङ्सिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्को नागरिकता प्राप्त गरे ।
दूबै नागरिकतामा उनको नाम, जन्म मिति र स्थान फरक फरक देखिएको छ । पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ । अर्को नागरिकतामा बुवाको नाम देव शरण राखिएको छ । दुबै ठाउँबाट लिएको नागरिकतामा मिश्र कै फोटो रहेको छ ।
भारतको निर्वाचन आयोगबाट जारी मतदाता सूची र उनले बनाएको मतदाता परिचय पत्रमा पिताको नाम पवन मिश्र र आफ्नो नाम भवेश मिश्र उल्लेख गरेका छन् । यी कार्डमा पनि मिश्रकै फोटो छ । तर मिश्रले दुबै ठाउँबाट लिएको नेपाली नागरिकता वंशजको आधारमा रहेको छ । उनी जानकी विहार कुण्ड मन्दिरका महन्थको सहयोगी थिए ।