
जनकपुरधाम- महोत्तरीमा २५ प्रतिशत धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।
यस पटक मनसुन पहिले नै आएपनि धानको वेड तयारी अवस्थामा नहुदा रोपाई अलिपछिमात्र सुरु गर्दा रोपाई प्रतिशत अपेक्षाकृत वढी नभएको कृषि ज्ञान केन्द्र महोत्तरी प्रमुख डा.रामचन्द्र यादवले वताए ।
उनले अहिले खेतमा पानी पर्याप्त रहेको हुँदा धान रोपाईले गति लिएको र दैनिक रोपाई प्रतिशत तिव्ररुपले वृद्धि भईरहेको बताए ।
महोत्तरीमा कुल जग्गाको ६७३५२ हेक्टर(६७ प्रतिशत) जग्गा खेती योग्य रहेकोमा सो मध्ये ४५५०० हेक्टर जग्गामा धान खेती भई रहेको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्यांक छ ।
महोत्तरीमा सरदर प्रति हेक्टर ३.५ मेट्रिक टन धान उत्पादन भैरहेको धान खेती हुने क्षेत्रफल र उत्पादन प्रतिशत समेत वढाउने लक्ष्य रहेको कृषि ज्ञान केन्द्र प्रमुख डा. यादवले वताए । उनले यहाँ उत्पादन हुने धानहरुमा बासमति,सावित्री,हर्दिनाथ १,२ ,स्वणर्ा सव १,साँवा सव १, सुख्खा १,२ र ३, भारतिय जातमा सोना मन्सुली र कतरनी रहेको जनाए ।
नेपाल सरकारले “धान बालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग” भन्ने मुलनाराका साथ यसपालीको १९ औ राष्ट्रिय धान दिवस मनाएको छ।
४५सय हेक्टर भन्दा वढी जग्गामा धान उत्पादन हुने गरेकोमा धान उत्पादन गर्ने कृषकहरु आकाशे पानीकै भर पर्ने गरेका छन् । धानवाली हुने खेतसम्म नहर तथा सिंचाईको कुलोको पहुच नहुदा किसानहरुले अपेक्षाकृत उत्पादन गर्न सकेका छैनन् ।
महोत्तरीमा सुचारु अवस्थामा रहेको कुल १६ विभिन्न सिंचाई आयोजनाबाट ६९९५ हेक्टर जग्गामात्र सिंचित हुन सकेको छ भने निर्माणाधिन अवस्थामा रहेको विभिन्न ९ सिंचाई आयोजनाले थप ५२३० हेक्टरजग्गामात्र सिंचित हुन सक्ने ज्ञान केन्द्र प्रमुख डा. यादवले वताए ।
उनले कृषि ज्ञान केन्द्रबाट कृषकलाई कृषिकर्ममा प्रोत्साहित गर्न सिंचाईको व्यवस्थापन देखि,विउ विजन वितरण तथा बजारिकरणको लागि विभिन्न सेड समेतको निर्माण गरिरहेकोमा ज्ञान केन्द्रको विभिन्न योजनाहरुबाट कृषकहरुले लाभ लिई रहेको बताए ।