काठमाडौं- दाइजो कम ल्याएको भन्दै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका–६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलिलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाइजो कम ल्याएको कुरामा टाउकोमा लाठी र भाला प्रहार गरी घाइते बनाएका थिए। घाइते पत्नीको २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको हो।
कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेबाट २० वर्ष कैद सजाय ठहर भएको थियो। सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल–भारत सिमावर्ती क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ।




