काठमाडौं- जनकपुरधाम स्थित पिडाडी चोकको सरकारी जग्गा निजी व्यक्तिले भोगचलन गरिरहेकोबारे सोधपुछ गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३० जनाको नाममा पत्र काटेको छ।
काठमाडौंका दिवश विक्रम शाहको नाममा भोगचलन गरेको ८ बिगाहाभन्दा बढी सरकार जग्गा प्रकरणबारे सोधपुछ गर्न अख्तियारले पत्र काटेको हो।
अख्तियारले बिहीबार दोस्रोपटक सार्वजनिक सूचना गर्दै शाहसहित ३० जनाको नाम सार्वजनिक गरेर ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
तोकिएको समयभित्र हाजिर हुन नआए कानुनबमोजिम हुने चेतावनीसमेत अख्तियारले दिएको छ।
काठमाडौ महानगरपालिका–३ का शाहले जनकपुरको सार्वजनिक जग्गा भोगचलन गरेको विषयमा उजुरी परेपछि अख्तियारले अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएपछि सोधपुछ गर्न लागेको हो।
‘जनकपुर पिडाडी चोकस्थित ८ बिगाहाभन्दा बढी सरकारी, सार्वजनिक जग्गा दिवस विक्रम शाहले आफ्नो नाममा भोगचलन गरेको भन्ने व्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईंसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ। यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको अनुसन्धान महाशाखामा सम्पर्क राख्न आउनुहोला, नआए कानुनबमोजिम भइजानेछ,’ अख्तियारले प्रकाशित गरेको सूचनामा भनिएको छ।
अख्तियारले शाहसछि तत्कालीन मालपोत प्रमुख शशीनारायण लाल दास, नापी टोली प्रमुख चौमानसिंह थापा र नापी निरीक्षक सिताराम साहलाई सोधपुछका लागि बोलाएको छ।
त्यस्तै विभाकुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजयकुमार मण्डल, चन्द्रकलाकुमारी देवी, त्रिफुलाकुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, सज्ञान देवी, पुष्पा सिंह, लक्ष्मी नारायण मिश्रा, नितुकुमारी झा, शर्मिला कुमारी, रेणुकुमारी राय, नवलकिशोर यादव, जयकुमार गोइत र रिता देवीलाई अख्तियारले सोधपुछका लागि बोलाएको छ।




