
जनकपुरधाम- मधेश प्रदेशको प्रदेश सभाको आज शनिवार बसेको बैठकले दुई र शुक्रवारको बैठकले दुई गरि ४ वटा विधेयक पारित गरेको छ।
आज पारित गरिएको विधेयकमा विनियोजन विधेयक ०७९/८० र प्रदेशसभा सचिवालय कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले प्रदेशसभा बैठक बहिष्कार गरे पनि सत्ता घटक दलका सांसदहरूको मात्र उपस्थितिमा दुईवटा विधेयक पारित भएको हो ।
दुवै विधेयक विपक्षी दलका कुनै सदस्य उपस्थित नभए पछि सभामुख सरोजकुमार यादवले सर्वसम्मतले पारित भएको घोषणा गरे ।
लोसपा तथा नेकपा एमालेका प्रदेश सभाका सदस्यहरुले राष्ट्रिय शोकको घडीमा बैठक गरेको भन्दै बैठक नै बहिष्कार गरेका थिए ।
आज बसेको बैठकले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री एवं नेपालका परम हितैषी सिन्जो आबेको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ ।
प्रदेश सभाको बैठकमा मधेश प्रदेशका सभामुख सरोज कुमार यादवले शोक प्रस्ताव पेश गर्नु भएपछि बैठकले सर्वसम्मतिले पारित गरिएको हो ।
प्रदेशसभाको अर्को बैठक भोलि ९ बजे बस्ने गरी स्थगित भएको छ ।
त्यसैगरी शुक्रवार बसेको प्रदेश सभाको बैठकले मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ। शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रस्तुत गर्नुभएको विधेयक र अर्को संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको हो ।
बैठकमा दुवै विधेयक सर्वसम्मतले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका थिए ।