जनकपुरधाम- जनकपुरधाममा प्रहरीले स्वास्थ्य सामग्रीको अवैध कारोबार भइरहेको आशंकामा छापा मारेर स्वास्थ्य सामग्री सहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपमा भन्सार नतिरी मेडिकल सामग्री ल्याएर राखेको जनकपुरधाम स्थित एक घरमा धनुषा प्रहरीले छापामारेको हो ।
डीएसपी दिपक राई नेतृत्वको टोलीले जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिर नजिकै रहेको शुक्रबार दिउँसो छापा मार्दा ठुलो परिमाणमा मेडिकल सामग्री फेला परेको हो ।
प्रहरीले उक्त घरबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्रीहरु, एउटा भारतीय नम्बर प्लेटको कार र तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा भारतको मधुवनी जिल्ला जयनगर थाना बस्ने ५२ वर्षीय विपिन कुमार सिंह, दाउदपुर थाना बस्ने ६० वर्षीय शंकर सिंह र पटनाको हरनोद सिरसिया बस्ने २३ वर्षीय सुरज सिंह रहेको डीएसपी राईले बताए ।

तीनैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





